काठमाडौँ, २७ फागुन - वाग्मती सफाइ महाअभियान २०० औँ हप्तामा प्रवेश गरेको पूर्वसन्ध्यामा आज आयोजित सफाइ सम्मेलनमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले २०३१ सालपछि वाग्मतीको उत्तरपूर्वी क्षेत्रमा बस्ती बढेसँगै नदीमा ढल मिसाउन थालेपछि नदी दूषित बन्दै गएको बताउनुभएको छ ।
कोषको आयोजनामा आज सम्पन्न सम्मेलनमा डा टन्डनले ‘हाम्रो संस्कृतिमा पानी र नदीको महत्व’ विषयको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि टिप्पणी गर्दैै वाग्मती नदीको सभ्यतामाथि अनुसन्धानरत अमेरिकी विलियम फोब्र्सले वाग्मती किनारमा प्राचीन कला र संस्कृतिअनुरुप निर्माण भएका संरचना लोप हुँदा वाग्मतीको सभ्यतामाथि नै प्रश्न चिह्न उठेको बताउनुभयो ।
‘वाग्मती सभ्यता र उपत्यकाको विकास’ विषयको कार्यपत्र प्रस्तुत गर्दै पूर्वसचिव किशोर थापाले नदीको बहाव क्षेत्रमा विकास भएको बस्तीलाई रोक्न नसक्दा वाग्मती सभ्यतामाथि सङ्कट आएको बताउनुभयो ।
उहाँको कार्यपत्रमाथि टिप्पणी गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले समुदायले अपनत्व ग्हण गर्ने गरी वाग्मती सौन्दर्यकरण अघि बढाइनुपर्ने बताउनुभयो । “जन्मेदेखि मृत्यु नहुँदासम्म वाग्मती सफाइ महाअभियान सकिँदैन, नदी किनारमा बस्नेले मेरो अभियान हो भन्ने सोच्यो भने अभियान सफल भई उद्देश्य पूरा हुन्छ”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश थपलियाले काठमाडौँ उपत्यका प्रकृति र संस्कृतिको सङ्गम भएको उल्लेख गर्नुभयो । रासस