
काठमाडौं– नेपाली युवतीलाई विभिन्न नाकाबाट भारत हुँदै तेस्रो मु्ल्क पुर्याउँदै आएको मानवतस्कर समूहले नयाँ बाटो प्रयोग गर्ने गरेको रहस्या खुलेको छ । भारत लगायत विभिन्न मुलुकमा नेपाली युवतीलाई राम्रो काम लगाइदिने भन्दै विभिन्न यौनजन्य क्रियाकलापमा संलग्न गराउने गिरोहले पूर्वोत्तर भारतको मणिपुर हुँदै म्यान्मार पुर्याउने र त्यहाँबाट खाडी तथा अफ्रिकन मुलुकमा पुर्याउने वेश्यावृत्तिलगायत यौनजन्य क्रियाकलापमा जबरजस्ती संलग्न गराउने गरेको पाइएको छ ।
महिला बेचबिखनविरुद्ध लामो समयदेखि काम गर्दै आएको माइती नेपालले म्यानमार हुँदै नेपाली युवतीलाई तेस्राे मुलुक पुर्याउने रहस्या पत्ता लगाएको दाबी गरेको छ । काठमाडौं विमानस्थलमा नेपाली महिलालाई तेस्रो मुलुक जानमा कडाई गरेपछि दलालले पूर्वोत्तर भारतको नाका प्रयोग गरेर म्यानमार पुर्याउने र त्यहाँको यांगुनअन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी नेपाली युवतीलाई अन्य मुलुक पुर्याउने गरेको माइती नेपालका अध्यक्ष विश्व खड्काले जानकारी दिनु भयो । नेपाल समाचार पत्रमा खबर छ ।
भारतबाट एक सयको उद्दार
अवैध रुपमा विभिन्न मुलुक लैजान खोजिएका एक सयभन्दा बढी नेपाली महिलाको भारतको उत्तरपूर्वी राज्य मणिपुरबाट उद्दार गरिएको छ । उनीहरुलाई अवैध रुपमा लैजान खोज्ने दुईजना नेपाली पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ४२ वर्षीय आशाकाजी तामाङ रहेको इण्डियन एक्सप्रेसले जनाएको छ ।
इम्पल्स एनजीओ नेटवर्कको सहयोगमा मणिपुर पुलिसले म्यानमारसँग सीमा जोडिएको क्षेत्र, होटल र विमानस्थलबाट उद्दार गरिएको हो । उनीहरुलाई म्यानमारको बाटो भएर इराक र दुबई लैजान लागिएको आशंका गरिएको छ । ७० भन्दा बढी नेपाली महिलालाई अवैध रुपमा मणिपुरको बाटो भएर म्यानमार लैजान खोजेको सूचना माइती नेपालले दिएको थियो ।
त्यसआधारमा मणिपुर प्रहरीले शुक्रबार विहानबाटै सर्च अपरेशन चलाएको थियो । त्यसक्रममा विभिन्न ठाउँबाट ३०० भन्दा बढीलाई उद्दार गरिएको छ । उद्दार गरिएमा महिलाहरुमा १०० बढी नेपालीलाई उद्दार गरिइएको माइती नेपालले पुष्टि गरेको छ ।
इन्धनको मूल्यवृद्धि
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको दरले वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११०, डिजल र मट्टीतेल प्रतिलिटर ९७ कायम भएको छ । निगमले एलपी ग्यासको मूल्यभने समायोजन गरेको छैन् । इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट प्राप्त नयाँ मूल्यबमोजिम निगमलाई ग्यासमा प्रतिसिलिण्डर अझै ३२ रुपैयाँ ६८ पैसा घाटा रहेको छ । मूल्य समायोजनसँगै निगमलाई समग्रमा १५ दिनमा रु एक अर्ब १६ करोड नाफा हुनेछ ।
नेकपामा लेबीका लागि संयुक्त खाता खोलिने
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विगतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा रहेका सांसदहरूले बुझाइरहेको लेवी अब एउटै संयुक्त खातामा बुझाउने भएका छन् । एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते एकीकरण भएर नेकपा भएयता पनि ती दलका सांसदहरूले आआफ्नै पूर्व पार्टीमा लेवी बुझाउँदै आएका थिए । पार्टीले हालसम्म संयुक्त खाता नदिएका कारण छुट्टाछुट्टै लेवी बुझाइरहेका छन् ।
पार्टी एकीकृत भए पनि दुईवटै पार्टीको लेवी फरक फरक रहेको छ । अहिले पूर्वएमालेका प्रतिनिधिसभाका सांसदले मासिक रु. १३ हजार र मन्त्रीले रु. १५ हजार लेबी बुझाउँदै आएका छन् । त्यस्तै, पूर्वमाओवादी केन्द्रका प्रतिनिधिसभाका सांसदले मासिक रु. १२ हजार र मन्त्रीले रु.१५ हजार बुझाउने गरेका छन् ।
समृद्धिको सपना यही सरकारले पूरा गर्छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले देखेको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउनुभएको छ । सिरहामा शनिबार आयोजित शहीद हेमनारायण यादवको १५ औँ स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “गरीबी र बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ हामी अघि बढेका छौँ, तपाईंहरु धै¥र्य गर्नुस्, तपाईंहरुको समृद्धिको सपना यही सरकारले पूरा गर्छ ।”
प्रधानमन्त्री ओलीले व्यवहारिकरुपमा मुलुकको गरीबी र बेरोजगारी हटाउन सरकार दृढताका साथ अघि बढेको उल्लेख गर्दै बेरोजगार युवालाई स्वरोजगार बनाउन प्रधानमन्त्री स्वरोजगार योजनाअन्तर्गत प्रत्येक स्थानीय तहमा स्वरोजगार अधिकारी नियुक्ति गर्नेजस्ता कार्य अघि बढाइसकेको जानकारी दिनुभयो ।
उपसचिव समायोजन आजदेखि
सरकारले समायोजनमा जाने उपसचिवलाई आइतबारबाट समायोजन पत्र दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले आइतबारदेखि उपसचिवले आफूले रोजेको स्थानीय तह, प्रदेश या केन्द्रमा जान समायोजनपत्र बुझ्न थाल्ने जानकारी दिए ।
उपसचिवले आफ्नो समायोजनपत्र आफैं प्रिन्ट गर्नसक्ने व्यवस्था मिलाइएको छ । उनका अनुसार आइतबार करिब २ हजार जनाले अनलाइनबाट आफ्नो समायोजनपत्र प्रिन्ट गर्न सक्नेछन् । ‘अनलाइन फाराम भर्दाकै पासवर्ड प्रयोग गरेर उपसचिवले अनलाइनबाट समायोजनपत्र निकाल्न सक्ने व्यवस्था मिलाइएको छ’, अधिकारीले भने, ‘समायोजनपत्रका लागि उहाँहरूले मन्त्रालय धाइरहनु पर्दैन ।’
समायोजन पत्रमा संघ, प्रदेश र स्थानीय तहसमेत उल्लेख हुने छ । संघमा समायोजन भएका उपसचिवलाई सामान्य प्रशासन मन्त्रालयले संघअन्तर्गतका विभिन्न कार्यालयमा खटाउने छ । प्रदेशमा समायोजन भएकाहरू सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हाजिर हुनेछन् । स्थानीय तहमा जानेहरूलाई पनि त्यसैअनुसारको व्यवस्था मिलाइएको छ ।, कान्तिपुरमा खबर छ ।
६ सय ३४ सहसचिवलाई समायोजनपत्र दिने तयारी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ सय ३४ जना सहसचिवलाई समायोजनपत्रको पत्र दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिसकेको छ । अब बस्ने मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेपछि सहसचिवलाई सरकारले पत्र प्रदान गर्दै जाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । गत साता सरकारले ५६ जना सचिवलाई मन्त्रिपरिषद्बाट निर्णय गरी समायोजनको पत्र प्रदान गरिसकेको छ ।
सचिवहरूको समायोजन संघमा नै हुने व्यवस्था भए पनि सरकारले निर्णय गरी समायोजनको पत्र दिने अध्यादेशमा उल्लेख गरिएको छ । सहसचिवको समायोजन स्थानीय तह अन्तर्गत महानगरपालिका र उपमहानगरपालिका, प्रदेशअन्तर्गत प्रदेश मन्त्रिपरिषद्को कार्यालय र प्रदेश सरकारका कार्यलयमा त्यस्तै संघ अन्तर्गत मन्त्रालय, विभाग जिल्लास्थित विषयगत कार्यालयमा समायोजनका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पेश भइसकेको मन्त्रालयले जनाएको छ ।
निकुञ्ज क्षेत्रभित्र टाइमकार्ड लागू
बर्दिया राष्ट्रिय निकुञ्जभित्र मन्त्री, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत ठूला उच्च ओहोदाका व्यक्तिले प्रयोग गर्ने सवारी साधनसमेत निकुञ्जले जाँच शुरु गरेको छ । बर्दिया निकुञ्जभित्र सवारी साधनको ठक्करबाट वन्यजन्तु मर्ने घटना बढेपछि नियन्त्रणका लागि प्रशासनले टाइमकार्ड लागू गरेको छ । निकुञ्जको प्रवेश बिन्दुमा दिइने कार्डमा उल्लेख समयभित्र अर्को सुरक्षा पोष्टमा पुग्नुपर्छ समयमा तलमाथि भए जरिवाना तिर्नुपर्छ ।
नेपाल १० विकेटले विजयी
अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको नेपालले तेस्रो टी–२० क्रिकेटमा घरेलु टोली पाकिस्तानलाई १० विकेटले पराजित गरेको छ । इस्लामावादमा शनिबार भएको खेलमा पाकिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले सात ओभर ३ बलमा विनाविकेटको क्षतिमा पूरा गरेको थियो ।
नेपालको जितमा मनकेसी चौधरीले अविजित ५८ रनको अर्धशतकीय इनिङस खेलिन् । मनकेसी अर्धशतक बनाउने पहिलो नेत्रहीन महिला खेलाडीसमेत बनेकी छिन् । यस्तै विनिता पुनले अविजित ३४ रन जोडिन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले पूरै २० ओभर खेल्दै छ विकेट गुमाएर १०२ रन बनाएको थियो । पाकिस्तानकी फातिमाले २७ रन जोडिन् । नेपालका भगवती भट्टराई र मुना अर्यालले एक÷एक विकेट लिए । जितसँगै नेपालले पाँच खेलको सिरिजमा २–० ले अग्रता बनाएको छ । जारी सिरिजअन्तर्गत इस्लामावादमा आइतबार चौथो र सोमबार पाँचौँ खेल हुने छ ।