१४ असार २०८३, आइतबार

भेनेजुएलामा राजनीतिक संकट गहिरिँदै

भेनेजुएलामा राजनीतिक संकट गहिरिँदै

काठमाडौं– भेनेजुएलाको राजधानी काराकासमा राष्ट्रपति निकोलश मादुरो तथा आफैलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोका हजारौँ समर्थकले प्रदर्शन गरेका छन् । योसँगै भेनेजुएलामा राजनीतिक संकट थप गहिरिँदै गएको छ ।  

दुवैले आ–आफ्ना सर्थकलाई सम्बोधन गरेका छन् । आफैलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका गुएडोले देश अहिलेको शासन सत्ताका कारण निराशाको खाडलमा पुगेको बताए । यस्तै राष्ट्रपति मादुरोले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफू मात्रै भेनेजुएलाको राष्ट्रपति रहेको बताए ।

भेनेजुएलामा हजारौँ मानिसले राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।

यस्तै मादुरोका समर्थकले पनि प्रदर्शन गरेका छन् । सो प्रदर्शनलाई सम्बोधन गर्दै मादुरोले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आफ्नो पक्षमा भएका प्रदर्शनलाई नसमेटेको आरोप लगाए ।  युरोपियन युनियनले राष्ट्रपतिका लागि नयाँ चुनावको घोषणा गर्न दिएको समय सीमाको अघिल्लो दिनमा मादुरोका समर्थकले प्रदर्शन गरेका हुन् ।

गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई अमेरिकाले समर्थन गरेको छ । यस्तै राष्ट्रपति मादुरोलाई रुस र चीनको साथ छ । केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलश मादुरोमाथि छ ।

मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।

मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्