
विराटनगर- विराटनगर विमानस्थलबाट चार सय लिटर डिजेल चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । डिजेल चोरी गर्नेमा विराटनगर विमानस्थलका कार्मचारी समेत रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।
केसीका अनुसार, विमानस्थलका चौकीदार विराटनगर ४ का ४८ वर्षीय भोला यादव, छोरा २२ वर्षीय अमित र मुकेश यादव तथा भतिजा १९ वर्षीय चन्द्र यादवलाई पक्राउ गरिएको छ । प्रहरीले पक्राउ गरिएका चारै जनालाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम चोरी मुद्धाको म्याद थप चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।
विमानस्थलको जेनेरेटर हाउस भित्र राखिएको चार सय लिटर डिजेल चोरी गरेको अनुसन्धानका क्रममा खुलेपछि चारै जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । गत माघ ९ गते सो तेल चोरी हुनु पछाडिको कारणमा चौकीदार र अन्य ३ जना आफन्त भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
विमानस्थलमा काम गर्ने भोलाले डिजेल स्टक गरेर राखेको ठाउँका बारेमा सूचना दिएपछि उनका आफ्नै छोरा र भतिजाले चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विराटनगर विमानस्थल प्रमुख टेकनाथ सिटौलाका अनुसार डिजेल हराएको पाइएपछि प्रहरीलाई जानकारी गराईएको बताए ।
सिटौलाले पुस १३ गते घटना अनुसन्धानका लागि भन्दै प्रहरीमा निवेदन दिएका थिए । ४ सय लिटर डिजेलमा तीन सय १० लिटर डिजेल एकै ठाउँमा लगेर बिक्री गरेको र बाँकी ९० लिटर भने प्रहरीले बरामद गरेको प्रहरीले जानकारी दियो ।