२३ जेठ २०८३, शनिबार

जरिवाना तिर्न नसकेका कारागार चलान, एक जना भने जरिवाना तिरेर छुटे

जरिवाना तिर्न नसकेका कारागार चलान, एक जना भने जरिवाना तिरेर छुटे

काठमाडौँ– चोरी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति अदालतले तोकेको रु २३ लाख ८३ हजार जरिवाना तिर्न नसकेपछि आज कारागार चलान भएका छन् । अर्का एक जना भने जरिवाना तिरेर छुटेका छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले काठमाडौँबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा अदालतको आदेशले एक जना जरिवाना तिरेर छुटेको र एक जना जरिवाना तिर्न नसकेपछि कारागार चलान भएको सिआइबीका प्रवक्ता उमाप्रसाद चर्तुवेदीले जानकारी दिनुभयो । 

कारागार चलान हुनेमा कागेश्वरी मनोहरा नगरपालिका–७ वीरेन्द्रचोक बस्ने २८ वर्षीय दामोदर श्रेष्ठ रहेका छन् । काठमाडौँ महानगरपालिका २१ का रजन कारञ्जितले भने अदालतले तोकेको जरिवाना बुझाएर छुटेको प्रहरीले जनाएको छ । 

उनीहरु विसं २०७० मा काठमाडौँ कमलादीस्थित ट्रेड लिङ्क इन्टरनेशनल प्रालिको झ्यालको जाली काटी कोठामा गएर विद्युतीय सामग्री, मोबाइल तथा नगदसहित रु १५ लाख ८९ हजार बराबरको धनमाल चोरी गरेको आरोपमा दोषी ठहर भएका थिए । 

मनिषप्रसाद राजभण्डारीको जाहेरीले नकवजनी चोरी मुद्दाका उनीहरुलाई उच्च अदालत पाटनको गत असार ११ गतेको फैसलाले बिगोबमोजिम जनही रु २३ लाख ८३ हजार ३६२ रुपैयाँ जरिवाना र एक महीना १५ दिन कैद हुने ठहर गरेको थियो । कैद समय भने उनीहरुले यसअघि नै भुक्तान गरिसकेको जनाइएको छ । 

फरार हुँदै आएका उनीहरुलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा आज रजन कारञ्जितले जरिवानावापतको रकम काठमाडौँ जिल्ला अदालतमा बुझाएका थिए । अर्का प्रतिवादी दामोदर श्रेष्ठले जरिवाना तिर्न नसकेपछि अदालतको आदेशले कैद भुक्तानका लागि आजै केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाएको सिआइबीका प्रवक्ता चतुर्वेदीले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्