२३ जेठ २०८३, शनिबार

भेनेजुएला प्रकरण – नेकपाको ‘टोन डाउन’ प्रचण्डले गरेजस्तो छैन सिधा टिप्पणी

माघ २२, २०७५
भेनेजुएला प्रकरण – नेकपाको ‘टोन डाउन’ प्रचण्डले गरेजस्तो छैन सिधा टिप्पणी

काठमाडौँ — सत्तारूढ दल नेकपाले भेनेजुएलाको राजनीतिक संकटबारे केही नरम शैलीमा सोमबार पार्टीको धारणा स्पष्ट पारेको छ । सचिवालय बैठकले यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको वक्तव्यको समेत समीक्षा गर्दै कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने धारणा अघि सारेको हो ।

सचिवालय बैठकको निर्णयमा यसअघि दाहालले गरेजस्तो अमेरिकाप्रति सिधा टिप्पणी गरिएको छैन। भेनेजुएलाका जनताको सार्वभौम अधिकारको सम्मान हुनुपर्ने धारणा मात्र राखिएको छ। दाहालले यसअघि जारी गरेको वक्तव्यमा भेनेजुएलामा हस्तक्षेप गरेको भन्दै अमेरिकालाई लाञ्छित गरिएको थियो।

‘हालैका दिन भेनेजुएलामा विकसित भएका राजनीतिक घटनाक्रमप्रति सचिवालयको ध्यानाकर्षण भएको छ,’ बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘हाम्रो पार्टी हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्छ। कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै देशमाथि कुनै प्रकारको समस्या पैदा भए त्यहाँका जनताले स्वतन्त्रतापूर्वक शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता राख्छ। हाम्रो पार्टी विश्वशान्ति, समझदारी र समृद्धिको पक्षमा छ।’ कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्