
वासिङटन– अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोको सीमाक्षेत्रमा सोमबारदेखि थप ३ हजार ७ सय अमेरिकी सेना परिचालन गरेको छ । सीमाक्षेत्रमा यसअघि खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई सघाउन भन्दै ३ महिनाका लागि थप सेना परिचालन गरेको अमेरिकाले जनाएको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार सीमा शुल्क उठाउन र सीमा रक्षाका लागि कूटनीतिक अधिकारीहरू पनि बढाइनेछ । ‘देशको दक्षिणी सीमा रक्षा गर्ने कार्यमा सहयोग पु¥याउन थप सुरक्षाकर्मीलाई तत्काल ९० दिनका लागि खटाइएको छ । सुरक्षा निकायहरूको सिफारिसका आधारमा थप निर्णय लिइनेछ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
मेक्सिकोसँगको सीमा सुरक्षाका लागि बजेट छुट्याउने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावप्रति सांसदहरूले विमति जनाएपछि सम्झौताको प्रयास भइरहेका बेला थप सेना सीमा क्षेत्रमा परिचालन गरिएको हो। राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनुपर्ने अडान लिँदै अँएका छन् । उनले पर्खाल निर्माण गर्नका लागि बजेट व्यवस्था नगरिए राष्ट्रिय संकट घोषणा गर्ने चेतावनी समेत दिँदै आएका छन् ।