
रुकुमकोट– करिब ६ हजारको लावालस्कर । हरेकको पिठ्यूँमा ओढ्ने–ओछ्याउने र खानेकुराको भारी । महिला–पुरुष सराबरी । पुथाउत्तरगंगा–२ का बासिन्दा चार दिन हिँडेर रुकुमकोटतिर आउँदै छन् ।
उनीहरूको लक्ष्य छ– सदरमुकाम जसरी पनि आफूलाई पायक पर्ने गोलखाडामा लैजाने ।
त्यसैले गाउँ नै उठेर ज्ञापनपत्र बुझाउन आएका छन् । तर, रुकुमकोटमा कफ्र्यु लागेको छ । त्यहाँका बासिन्दा सदरमुकाम कसै गरी सार्न नदिने अडानमा आन्दोलित छन् । पूर्वी रुकुमको अस्थायी सदरमुकाम हो रुकुमकोट ।
यसबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । शेरबहादुर देउवा सरकारले ०७४ माघ ११ गते गोल्खाडालाई स्थायी सदरमुकाम बनाउने निर्णय गरेको थियो । यही निर्णय कायम गराउन गोल्खाडावासी गावै उठेर आएका हुन् । तर सीडीओले ज्ञापनपत्र नै नबुझेको गोलखाडाका संगम रोकाले बताए ।
रुकुमकोट गौंडामा अहिले दिनरात सुरक्षाकर्मी तैनाथ छन् । आउजाउमा कडाइ गरिएको छ । चार दिनदेखि निरन्तर कफ्र्यु छ । सर्वसाधारण घरभित्रै सीमित छन् । स्थायी सदरमुकाम कायम गर्ने विवादमा रुकुमकोट र गोलखाडा पक्षधरबीच झडप हुन नदिन प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो । जिल्ला बाहिर जाने तथा भित्रिनेहरू समस्यामा परेका छन् ।
कामविशेषले सदरमुकाम आउनेहरू मारमा छन् । यातायात ठप्प छ । सदरमुकाम विवाद चर्केपछि कफ्र्यु लगाउनु परेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । बुधबार दिनभर उच्च सतर्कता अपनाइएको थियो । प्रदेश राजधानी बुटवलबाट २ पटक हेलिकप्टरमार्फत थप सुरक्षाकर्मी ओसारिएको उनले बताए ।, कान्तिपुरमा खबर छ ।