०७ असार २०८३, आइतबार

चौकुने सिमेन्टको काम शुरु हुँदै, मुआब्जा वितरणको तयारी

माघ २४, २०७५
चौकुने सिमेन्टको काम शुरु हुँदै, मुआब्जा वितरणको तयारी

सुर्खेत– कर्णाली प्रदेशको बहुचर्चित चुनखानी चौकुनेमा सिमेन्ट काराखाना खुल्ने करिब पक्का भएको छ । तिकुनियाँबाट सामान ल्याउन कर्णाली चिसापानी हुँदै सहज हुनेभएपछि अजय सुमार्गीको मुक्ति श्री प्रालिले कर्मचारी खटाएर अहिले मुआव्जा वितरण गर्न प्रयास गरिरहेको छ ।

कम्पनी र चौकुने सरोकार समितिबीच मुआब्जाको दररेट कति तोक्ने भन्नेमा कुराकानी भइरहेको बताइएको छ । चौकुने सिमेन्टका लागि प्रति रोपनी बढीमा १५ हजार रुपैयाँसम्म दिन सकिने कम्पनीको भनाई छ । उक्त दररेट सरकारी नै भएको कम्पनीको दाबी छ ।

चौकुनेमा सिमेन्ट काराखाना खुल्ने वा नखुल्ने अन्यौल रहेका बेला कर्मचारी खटाई मुआव्जा दिनेबारे छलफल शुरु गर्नु खुशीको खबर भएको गुटु निवासी रामेश्वर खनाल बताउँछन् । चौकुने सिमेन्ट खुलेको भए यहाँका धेरै व्यक्तिले रोजगारी पाउने थिए । खनाल भन्छन्, ‘तर अन्यौलताका बीच सुमार्गीले काम शुरु गर्न थालेको खबरले स्थानीयमा उत्साह आएको छ ।’

अहिले कम्पनीले १३७९ रोपनी जग्गाको मुआब्जा दिने तयारी गरेको कम्पनीका प्रोजेक्ट कोअर्डिनेटर लोकबहादुर अधिकारीले बताए । उनका अनुसार विगतमा सडकको अवस्था नाजुक रहेको तर अहिले भने भेरी नदीमा पुल बनेर सञ्चालनमा आएका कारण पनि कम्पनीले काम अघि बढाएको हो । विगतमा भारतको तिकुनियाँ हुँदै चिसापनी, कोहलपुर सुर्खेत हुँदै कच्चा पदार्थ ल्याउनु पर्ने बाध्यता थियो । 

अधिकारीले भने, ‘तर चौकुनेबाट सिधै जम्मा ३५ किमिमात्र दुरी रहेको हुँदा लागत ढुवानी खर्च कम हुने भयो । जसले कम्पनीलाई ठुलो राहत दिएको छ । भेरी पुलबाट हामीलाई सामान ल्याउन समस्या भइरहेको थियो । अधिकारीले भने, ‘अब सामान घाटगाउँ चिसापानी भएर ल्याउने गरी कम्पनी अघि बढेको छ ।

कम्पनीले अहिले पाँच विगाहा जग्गाको खोजी गरिरहेको छ । उक्त जग्गामा प्लान्ट लगाउने योजना कम्पनीको छ । हामीले सोनाकाँडालगायतका बजार भन्दा अलि टाढा जग्गा हेरेका हौं । अधिकारीले भने, ‘कम्पनीले डाँडामा जाने बाटो बनाउने तयारी गरेको छ । डाँडासम्म बाटो पुगिसकेको छ । स्थानीय सरकारसँग समन्वय गरेर यो वर्ष बाटोको स्तरोन्नती गर्ने योजना बनाइरहेका छौं ।’

दैनिक ३५० टन सिमेन्ट उत्पादन गर्ने
कम्पनीका प्रतिनिधि अधिकारीका अनुसार १५ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य कम्पनीको भएपनि विजुली बत्ति अभावका कारण हाललाई ३५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने गरी प्लान्ट स्थापना गर्न लागिएको बताए । उनले कति दर तोक्ने र सिमेन्टको नाम के राख्ने भन्ने निक्र्योल लागि नसकेको बताए । 

अहिले हामी प्लान्ट स्थापनाको चरणमा छौं । अधिकारीले भने, ‘अब उत्पादन गर्न थालेपछि मात्रै मूल्य र नाम तय हुनेछ । नाम सकेसम्म कर्णालीको पहिचान दिने खालको हुनेछ । र मेटेरियल आरनवर उडिसाबाट, जिन्सम राजस्थानबाट कोइला आयात गर्ने योजना कम्पनीको छ । कम्पनीले यी सबै सामग्रीहरु भारतको तिकुनियाँसम्म रेलमा त्यहाँबाट ट्रकमा ढुवानी गर्ने योजना बनाएको अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्