
काठमाडौं– सरकारले नेपाल औषधि लिमिटेडलाई २ करोड ४० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले औषधि लिमिटेडका निमित्त महाप्रन्धक विजयरत्न श्री बज्राचार्यलाई चेक हस्तन्तरण गरेका हुन् ।
बिहीवार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर मन्त्री यादवले उक्त चेक हस्तान्तरण गरे ।
नेपाल औषधि लिमिटेडलाई मिर्गौला रोगीका लागि आवश्यक पर्ने हेमोडाइलासिस फ्लूड उत्पादन इकाई स्थापनाका लागि उक्त रकम उपलब्ध गराइएको हो ।
चेक हस्तारन्तरणसँगै औषधि लिमिटेडलाई मिर्गौला रोगीहरूका लागि आवश्यक पर्ने हेमोडाइलासिस फ्लूड उत्पादन इकाई स्थापना गर्न सहज हुने भएको छ ।
सो क्रममा मन्त्री यादवले औषधि लिमिटेडले मिर्गौला रोगीका लागि आवश्यक पर्ने हेमोडाइलासिस फ्लूड उत्पादन गर्नु राष्ट्रका लागि गौरवको कुरा भएको बताए ।
आफू मन्त्री भएर मन्त्रालयमा आएपछि लेन्स उत्पादनका लागि तिलगंगा आँखा अस्पताललाई पनि रकम उपलब्ध गराएको भन्दै उनले औषधि लिमिटेडले मिर्गौला रोगीका लागि आवश्यक हेमोडाइलासिस फ्लूड उत्पादन गर्नु राष्ट्रकै लागि गौरवको कुरा रहेको बताए ।
औषधि लिमिटेड रुग्ण उद्योगबाट माथि उठिसकेको र यसले दूरदृष्टि राखेर सिटामोल, जीवनजल र हमोडाइलासिस फ्लूड उत्पादनमा जोड दिनु पर्ने मन्त्री यादवको भनाई थियो ।
त्यस्तै वाणिज्य सचिव केदारबहादुर अधिकारीले औषधि लिमिटेडले आफ्ना उत्पादन कसरी कम भन्दा कम लागतमै उत्पादन गर्न सक्छ, त्यस कुरामा ध्यान दिनु पर्ने बताए ।
उनले उत्पादन लागतमा विशेष ध्यान दिन औषधि लिमिटेडका अधिकारीहरूलाई सुझाव दिए ।
त्यस्तै उद्योग सचिव यामकुमारी खतिवडाले औषधि लिमिटेड औषधिको उद्योग भएकाले यसको क्षमता वृद्धिमा विशेष ध्यान दिनुपर्ने बताइन् ।
औषधि लिमिटेडका निमित्त महाप्रबन्धक विजयरत्न श्री बज्राचार्यले यसअघि मन्त्रालयमा हेमोडाइलासिस फ्लूड उत्पादन इकाई स्थापनाका लागि मन्त्रालयमा प्रस्ताव गरेको र सोही अनुसार पाएको रकमलाई सही सदुपयोग गरिने बताए ।
इकाई स्थापनापछि पहिलो चरणमा नेपालमा आवश्यक हुने हेमोडाइलासिसको १० प्रतिशत उत्पादन गरिने र बिस्तारै बढाउँदै लैजाने बताए ।
पहिलो पाँच महिनाको अवधिमा हमोडाएलासिस फ्लूड उत्पादन इकाईको स्थापनको अवधि भएको र त्यसपछि उत्पादन शुरू गरिने बज्राचार्यको भनाइ थियो ।
उनका अनुसार नेपालमा प्रत्येक दिन १५ सय लिटर देखि १७ सय लिटरसम्म हेमोडाइलासिस फ्लूड आवश्यक रहेको छ ।