
काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको काम छाडेर भागेको इटालिन कम्पनी सिएमसीसँगको सम्झौता सरकारले रद्द गरेको छ ।
बुधवारदेखि सिंगापुरमा जारी वार्ताबाट समेत सिएमसी काममा नफर्ने भएपछि सिएमसिसँगको सम्झौता मेलम्ची आयोजनाले रद्द गरेको हो ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देश्क सुर्यराज कंडेलद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा सिएमसीसँगको सम्झौता रद्द गरिएको उल्लेख गरिएको छ ।
अबको कार्य अघि बढाउन विकल्पसहित नेपाल सरकारसामु प्रस्ताव गरिने र सरकारले गरेको निर्णय अनुसार काम अघि बढाउने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि गत पुस पहिलो साता मेलम्चीको काम सम्पन्न हुन लागेको भनिएको अवस्थामा सिएमसीका प्रतिनिधिले अचानक काम छाडेर भाग्न खोजेका थिए ।
नेपाल प्रहरीले पक्राउ गरेर खानेपानी मन्त्रालयको जिम्मा लगाएको थियो । त्यसपछि नयाँ वर्ष र क्रिसमस मनाउने र छिट्टै काममा फर्कने भन्दै इटाली गएको थियो ।
यसअघि सिएमसीसँग मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग लगायतका निर्माण कार्य गनर्का लागि २०७० असार मसान्तमा ठेक्का सम्झौता गरिएको थियो ।
मेलम्ची विकास समिति र सीएमसीबीच ७ अर्ब ७२ करोड, ३४ लाख, ७१ हजार ३४२ रुपैयाँमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो ।