२७ जेठ २०८३, बुधबार
न्यायालय सुधारमा प्रधानन्यायाधीश राणाको अर्को कदम

अदालतमा ५ लाख घूस प्रकरण : न्यायाधीश बानिया पनि न्यायपरिषद्‍मा तानिए

अदालतमा ५ लाख घूस प्रकरण : न्यायाधीश बानिया पनि न्यायपरिषद्‍मा तानिए

काठमाडौं – सेवाग्राहीसँग घूस मागेको आरोपमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानिया न्यायपरिषद्‍मा तानिएका छन् ।

पाँच लाख घूससहित पक्राउ परेका काठमाडौं जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेले बयानका क्रममा न्यायाधीशको आग्रहमै आफूले पैसा बुझेको बताएपछि न्यायाधीश बानिया छानबिनका लागि न्यायपरिषद्‍मा तानिएका हुन् ।

सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घूस मागेको भन्ने सूचनाका आधारमा काठमाडौं जिल्ला अदालतका नायब सुब्बा चालिसेलाई यही माघ १७ गते पाँच लाख रुपैँया घूस सहित अख्तियारले बबरमहलबाट नियन्त्रणमा लिएको थियो । 

अख्तियारमा बयानका क्रममा चालिसेले न्यायाधीश बानियाको आग्रहमा आफूले सो रकम लिएको बताएका थिए । घूस प्रकरणको सूचना पाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले चासो लिएर प्रमाण जुटाउन निर्देशन दिएका थिए ।

घूस प्रकरणमा न्यायाधीश बानियाको संलग्नता देखिएपछि उनलाई न्यायपरिषद्‍मा तानिएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो । न्यायाधीश बानियामाथि न्यायपरिषद्ले अहिले छानबिन गरिरहेको छ ।

न्याय सम्पादनमा गलत काम गरेको भन्दै प्रधानन्यायाधीश राणाले यसअघि ७ जना न्यायाधीशमाथि कारवाही प्रक्रिया थालेका छन् ।

३३ किलो सुन काण्डमा संलग्नहरूलाई उन्मुक्ति दिन लागेको भन्दै उच्च अदालत विराटनगरमा न्यायाधीशहरू कारवाहीमा परेका थिए । 

न्यायालय सुधारका लागि अदालतमा हुने विकृतिविरुद्ध शून्य सहनशीलता अपनाउने भन्दै राणाले काम शुरू गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्