
काठमाडौं - भारतको नयाँ दिल्ली र म्यानमारबाट उद्धार गरी फर्काइएका सात महिलाले अब एजेन्टको प्रलोभनमा नपर्ने बताएका छन् ।
देशमै रोजगारी गर्ने उनीहरूको चाहना छ । उनीहरू इराक, कुवेत, यूएईलगायत देशमा काममा लगाइदिने प्रलोभनमा मानव बेचबिखन गर्ने गिरोहको फन्दामा परेका थिए । बिहीबार साँझ काठमाडौं आइपुगेका उनीहरूले बेचिनबाट जोगिएकोमा खुसी व्यक्त गरे । सानो–ठूलो जस्तो काम भए पनि नेपालमै गर्ने उनीहरूले सुनाए ।
उनीहरूमध्ये एक म्यानमार र ६ जनालाई दिल्लीबाट उद्धार गरिएको थियो । एक २२ वर्षीया युवतीलाई भारतको मणिपुरस्थित इम्फालबाट म्यानमार पुर्याइएको थियो । एजेन्ट दिलबहादुर कार्कीले दुबईमा काम मिलाइदिन्छु भनेर म्यानमार पुर्याएको ती युवतीले बताइन् । दोलखाकी उनलाई काठमाडौं हुँदै दिल्ली लगेर २५ दिन राखेपछि मणिपुर लगिएको थियो । त्यहाँ सात दिन राखिएको थियो । म्यानमार पुगुन्जेल ४० दिन बितिसक्दा पनि आफूलाई दुबईको टिकट र भिसा नमिलाई अलपत्र छाडेको उनले सुनाइन् ।
अन्नपूर्णमा पाेस्टमा खबर छापिएकाे छ ।