
काठमाडौं– शनिबारदेखि शुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता मौसमको प्रतिकूलताका कारण यही माघ २८ गतेदेखि शुरु हुने भएको छ । प्रतियोगिताको उद्घाटन भने पूर्वनिर्धारित समय शनिबार स्थानीय एक होटलमा गर्न लागिएको आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)का अध्यक्ष सुभाष शाहीले बताए ।
सोमबार पहिलो डिपिएल खेल धनगढी स्टार्स र विराटनगर किंग्सबीच हुन लागेको छ । प्रतियोगिताको ट्रफी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । डिपिएलका सद्भावना राजदूतमा नियुक्त दक्षिण अफ्रिकाका क्रिकेटर जोन्टी रोड्स र डिसिएका अध्यक्ष शाहीले शुक्रबार संयुक्त रुपमा उक्त ट्रफी सार्वजनिक गरे ।
प्रतियोगिताको विजेताले रु ३० लाख पुरस्कार पाउने भएको छ । यस्तै उपविजेताले रु १२ लाख, तेस्रो हुनेले रु चार लाख र चौथो हुने टोलीले रु दुई लाख पुरस्कार पाउने जनाइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ ।