
हेटौंडा– राक्सिराङ गाउँपालिकाको सरीखेत पलासेस्थित सूर्योदय माविमा ६ कक्षामा पढ्ने १३ वर्षीया सुनीता चेपाङले मदन चेपाङसँग विवाह गरिन् । चेपाङ र मदनको घर एक घण्टाको दूरीमा पर्छ । मदन स्कुलमा पढ्दैनथे । सुनीता गत मंसिर ८ गतेसम्म स्कुलमा पढ्न आएकी थिइन् ।
उनी छात्रावासमा बसेर पढ्ने गर्थिन् । ‘शुक्रबार घर जान्छु भनेर गएकी थिइन्, विवाह गररे पढ्न नै आइनन्,’ उक्त माविका प्रधानाध्यापक काजीराम मोक्तानले भने । सुनीतामात्र होइन, ८ कक्षामा अध्ययन गर्ने १६ वर्षीया शर्मिला चेपाङ पनि गाउँकै केटासँग विवाह गरेपछि पढ्न आएकी छैनन् । सुनीता र शर्मिलामात्र होइन, उक्त विद्यालयका ६ देखि ९ कक्षासम्म अध्ययन गर्ने ११ छात्रा र २ छात्रले यही शैक्षिक सत्रमा पढाइ छाडेर विवाह गरे प्रधानाध्यापक मोक्तानले भने ।
सूर्योदय माविमा मात्र होइन, राक्सिराङ गाउँपालिकाको काँकडा सिलिङेस्थित राष्ट्रिय माध्यमिक विद्यँलयमा पनि यही शैक्षिक सत्रमा ६ जना छात्राले विवाह गररे पढाइ छाडेका छन् । मंसिरदेखि फागुनको अन्तिमसम्म चेपाङ समुदायले बिहे गर्ने गर्छन् । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले चेपाङ महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी हालै गरेको अध्ययन प्रतिवेदनअनुसार पश्चिमी क्षेत्रमा पर्ने साबिकका गाविसहरूमा ४५ प्रतिशतदेखि ८६ प्रतिशत किशोरीको १२ देखि १५ वर्षसम्म विवाह हुने गरेको छ ।
अधिकांश किशोरीले १३ वर्षदेखि नै बच्चा जन्माउन सुरु गर्छन्। मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा पर्ने साबिकका काँकडा, भार्ता, सरिखेत, कालिकाटार, खैराङ, डाँडाखर्कलगायत गाविसहरूमा बालविवाह प्रथा कायमै छ । कानुनले तोकेको निश्चित उमेर नपुग्दै र कुनै एउटा किशोर वा किशोरी शारीरिक, मानसिक वा भावनात्मक रूपले विवाह गर्न योग्य नहुँदै गरिने विवाह नै बालविवाह हो।, कान्तिपुरमा खबर छ ।