
काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी संस्थापक बीपी कोइरालाको नाममा वीरगञ्जमा बन्ने भनिएको उद्यानको नाम प्रदेश सरकारले परिवर्तन गर्न लागेको भन्दै आपत्ति जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी प्रवक्ता शर्माले वीरगञ्जमा बीपी कोइरालाको नाममा बीपी उद्यान निर्माण गर्ने भनेर २०४९ सालमा भएको निर्णय अहिलेको प्रदेश सरकारले नाम फेर्नेगरी शिलन्यास गरेको भन्दै आपत्ति जनाएका हुन् ।
‘राजाको प्रत्यक्ष शासनकालका मन्त्रीले समेत बीपी कोइरालाको नामको उद्यान शिलन्यास गरिसकेको अवस्थामा अहिले प्रदेश सरकारले यो निर्णय गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई थाहा नभएर हो भन्ने कुरा मान्दैनौं,’ शर्माले भने ।
कांग्रेस केन्द्रीय समितिको गत २४ गतेको बैठकले सो उद्यान वीपीको नाममा कायम गर्न माग गरेको थियो । प्रदेश २ का मुख्यमन्त्री लालवाबु राउतले मधेस आन्दोलनका शहीदको नाममा उद्यान बनाउने भन्दै शिलन्यास गरेका थिए ।
‘प्रश्न बीपी कोइरालाको नाम मात्र होइन, यसको नियतको हो, बढ्दै गएको निषेधको राजनीतिको पनि हो,’ प्रवक्ता शर्माले भने, ‘अन्यथा कांग्रेस सदन र सडकमा संघर्ष गर्ने जानकारी गराउँछु ।’
यसअघि गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममका अस्पताल खारेजीमा लैजान लागेको भन्दै कांग्रेसले संसद्मा अवरोध गरेको थियो ।