२१ जेठ २०८३, बिहीबार

भेनेजुएलाबारे कुरा मिलिसक्यो, प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो समेत आइसक्यो - पौडेल

भेनेजुएलाबारे कुरा मिलिसक्यो, प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो समेत आइसक्यो - पौडेल

काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको स्पष्ट पारेका छन् ।

आइतवार राजधानीमा आयोजित एक साक्षात्कारमा नेता पौडेलले सचिवालयको धारणा नै आधिकारिक रहेकाले यसमा अल्झिराख्नु नपर्ने बताएका हुन् ।

उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति जारी गरेर कुनै गल्ती नगरेको जिकिर समेत गरे । 

यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूतसँग अध्यक्ष प्रचण्डको समेत कुराकानी भइसकेको भन्दै उनले यस विषयलाई अनावश्यक रूपमा नउचाल्न आग्रह गरे ।

'सरकार सञ्चालन गर्दा मिलेर अघि बढ्ने र निर्णय गर्दा सल्लाह गर्नेबारे उहाँहरूबीच सहमति भएको छ,' दुई अध्यक्षबीचको भेटबारे नेता पौडेलले भने- 'पार्टी एकीकरणको काममा दुवै अध्यक्षले पहलकदमी लिने र फत्ते गर्नेबारे पनि गम्भीर कुरा भएको छ । पार्टीभित्र अन्तरसंघर्षमा नफस्नेबारे पनि उहाँहरूबीच कुरा भएको मैले पाएको छु।’

साथै पौडेलले अमेरिकी राजदूतले अध्यक्ष प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो समेत दिइसकेको प्रस्ट पारे ।

‘नेपालस्थित अमेरिकी राजदूत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भइसकेको छ। राजदूतसँगको भेटमा हाम्रो अध्यक्षज्यूले वक्तव्य यो ‘स्पिरिट’मा आएको हो भनेर भनिसक्नुभएको छ, अब यो समस्या हल भयो,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्