
पाल्पा- पुस्तक दिवसको अवसरमा जिल्ला कारागार पाल्पाका कैदीबन्दीलाई पुस्तक तथा खेलकुदका सामाग्री वितरण गरिएको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पा शाखाले एक कार्यक्रमकाबीच ८१ थान पुस्तक, २ थान बल, २ थान चेस, २ थान लुडो, १ सेट ब्याट्मिन्टन र एक दर्जन कक वितरण गरेको सह–सचिव विष्णु खनालले बताए ।
वितरण समारोहमा कार्यालय प्रमुख भक्तीसरा रानाले अन्य संघ–संस्थामा सहयोगको लागि आग्रह गर्दा पनि पुस्तक सहयोग पाउन नसकेको तर पुस्तक व्यवसायीहरुले अकस्मात गरेको सहयोगले आफू र आफ्नो कार्यालय निकै खुसी रहेको बताईन् । उनले सहयोग गर्नै पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघलाई धन्यवाद दिईन् ।
पुस्तक व्यवसायी महासंघ पाँच नम्बर प्रदेशका कोषाध्यक्ष कमलराज तिमिल्सिनाले कार्यक्रमको बारेमा स्पष्ट पारेका थिए ।
जिल्ला शाखा सल्लाहकार नरेशचन्द्र भट्टराईले आगामी बर्ष पनि यो सहयोगलाई निरन्तरता दिने बताए ।
जिल्ला शाखा अध्यक्ष किशोर भट्टराईले अन्य पुस्तकहरु माग आए आफूहरु सहयोग गर्न तयार रहेको बताए ।
बन्दीको तर्फबाट राजु आचार्य र आशा दाहालले सधैको उपयोगी हुने पुस्तक आफूहरुको साथी जस्तै रहने धारणा ब्यक्त गरेका थिए ।
वि.स. १९८३ सालमा स्थापना भएको कारागारमा ५६ जना महिला, २ जना बालबालिका र २३३ जना पुरुष बन्दी रहेका छन् ।