
भारत– भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको महासचिवमा नियुक्त भएपछि प्रियंका गान्धी सोमबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएकी छिन् ।
उत्तर प्रदेश हेर्ने मुख्य जिम्मेबारीसहित केहीदिन अगाडि महासचिवमा नियुक्त भएकी गान्धी सोमबार उत्तर प्रदेशकै लखनउमा भएको बृहत सडक –यालीमा सहभागी भएकी हुन् ।
बहुप्रतिक्षित यस कार्यक्रममा जनसहभागिता पनि उल्लेख्य नै भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरुले ¥याली अवधिभरी नाच्ने, गाउने, नारा लगाउने आदि गरेका थिए ।
कार्यक्रममा उनका दाजु तथा पार्टी अध्यक्ष राहुल गान्धीसहित थुप्रै शीर्ष नेताहरुपनि सहभागी भएका थिए ।
लखनउ उच्च अदालतदेखि काँग्रेस प्रदेश मुख्यालयसम्म सवारी साधनको छतबाट गान्धीले झण्डै पाँच घण्टा लगातार हात उठाएर बाटो बरीपरी उपस्थित शुभचिन्तकलाई अभिवादन गरेकी थिइन् ।
उज्यालो रङको कुर्ता र चुरिदार लगाएर कार्यक्रममा सहभागी भएकी ४७ बर्षीया गान्धीलाई उनका श्रीमान्ले पनि “नयाँ यात्रा”का लागि शुभकामना व्यक्त गरेका छन् ।
श्रीमान रोबर्ट भद्राले सामाजिक सञ्जालमा लेखेका छन्, “उत्तर प्रदेशमा काम गर्ने र देशभरका भारतीय नागरिकको सेवा गर्ने मेरी श्रीमतीको नयाँ यात्राका लागि हार्दिक शुभकामना छ, प्रियंका मेरोलागि सवै भन्दा प्यारो साथी तथा अत्यन्त असल श्रीमती र जिम्मेबार आमा पनि हो ।”
“जनताको सेवा गर्न प्रियंकालाई सफलता मिल्नेछ र त्यसका लागि हामी सवैले साथ र सहयोग गर्नुपर्दछ, म त्यसका लागि आग्रह गर्दछु” उनले फेसबुकमा लेखेका छन् ।
राजनीतिमा प्रियंकाको प्रवेशलाई आसन्न निर्वाचनबाट पार्टीलाई फेरी सत्तामा पु¥याउने बलियो कडीका रुपमा व्याख्या गरिएको छ ।
लामो समय सत्तामा रहेको भारतीय राष्ट्रिय काँग्रेस पार्टी गत सन् २०१४ मा भएको आम निर्वाचनपछि प्रतिपक्षमा रहेको छ ।