
काठमाडौं - कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने भएको छ ।
फागुन १५ गते भव्य समारोहका बीच अध्यक्ष थापाले ताप्लेजुङ सदरमुकामबाट शुभारम्भ गर्ने यात्रा पश्चिम पुगेर काठमाडौं फर्किएपछि ३० गते समापन हुनेछ ।
यात्रालाई व्यवस्थित र प्रभावकारी ढंगबाट सम्पन्न गर्न केन्द्रमा सचिवालय स्थापना गरी यात्राको तयारी भइरहेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
जिल्लामा तयारीका लागि केन्द्रबाट चारवटा टोली खटाइएको श्रेष्ठले बताए ।
यस्तो छ कार्यक्रम :
- राप्रपा अध्यक्ष कमल थापाले एक भव्य समारोहका बीच फागुन १५ गते ताप्लेजुङ सदरमुकाममा यात्राको औपचारिक समुदघाटन गर्ने ।
-हिन्दू राष्ट्रको पुनर्स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, स्वदेशमै पर्याप्त रोजगारीको सिर्जना गर्ने वातावरण बनाउन दबाब दिने, सबैखाले महिला हिंसा, जातीय विभेद र छुवाछुत अन्त्यका लागि जनजागरण गर्ने यात्राको उद्देश्य हुनेछ ।
- यात्रा अवधिभर शुद्ध शाकाहारी भोजनको व्यवस्था गरिएको छ, यसबारे यात्रा पुग्ने जिल्लाका सम्बन्धित समितिलाई सर्कुलर समेत पठाइएको छ ।
- ताप्लेजुङबाट पाँचथर, इलाम, झापा सहित तराईका २२ जिल्ला र देशका विभिन्न भाग हुँदै सुदुर पश्चिमको कञ्चनपुर पुग्ने यात्रा कञ्चनपुरबाट फर्केर बुटवलबाट पाल्पा, स्याङ्जा, कास्की हुँदै फागुन २९ गते उपत्यका प्रवेश गर्नेछ र फागुन ३० गते विशाल सभा गर्दै सम्पन्न हुनेछ ।
- काठमाडौंमा दशरथ रंगशाला त्रिपुरेश्वरबाट ५००० भन्दा बढी कलश यात्रा हुनेछ ।
- ताप्लेजुङबाट काठमाडौं सम्मको १५ दिने यात्राले २२६० किमि दुरीको यात्रा तय गर्नेछ ।
- हरेक दिन बिहान धार्मिक अनुष्ठान गरि यात्रा प्रारम्भ हुनेछ भने बेलुका आरती गरिनेछ ।
- यात्राको क्रममा हिन्दु, बौद्ध र किराँत धर्मलाई चिनाउने सजावटयुक्त मन्दिर, चैत्य बनाइनेछ ।
- यात्रामा राष्ट्रिय भावनाले भरिपूर्ण गीत संगीत र भगवानका भजनहरु निरन्तर बजाइनेछ ।
- यात्राको क्रममा विभिन्न नदि तथा कुण्डको पानी संकलन गरिनेछ, त्यसरी संकलन गरिएको जललाई काठमाडौंमा हुने कलश यात्रामा प्रयोग गरि पशुपतिनाथ मन्दिरमा अभिषेक गरिनेछ ।
- यात्राका क्रममा साना ठूला गरी १०० भन्दा बढी सभाहरू हुनेछन् । प्रत्येक सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गर्नेछन् । अन्य वरिष्ठ र केन्द्रीय नेताहरूले आवश्यकता अनुसार सम्बोधन गर्नेछन् ।