२२ जेठ २०८३, शुक्रबार

नदीजन्य वस्तुको अवैध उत्खनन् रोक्न अनुगमन समिति

नदीजन्य वस्तुको अवैध उत्खनन् रोक्न अनुगमन समिति
प्रतिकात्मक तस्वीर

भरतपुर –चितवनको कालिका नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अनुगमन समिति बनाउने भएको छ ।

पहिलोपटक नगरभित्रका दुई खोलामा ढुङ्गा, गिट्टी उत्खननका लागि बोलपत्र आह्वान गरेको नगरपालिकाले अवैध उत्खनन रोक्न अनुगमन समिति निर्माण गर्न लागेको हो ।

नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले आफ्नै संयोजकत्वमा जिल्लाका सरोकारवाला रहने गरी अनुगमन समिति निर्माण गर्न लागेको बताए । समितिमा जिल्ला वन कार्यालयका प्रतिनिधि, प्रहरी, नगरपालिका कर्मचारी, वातावरण शाखा प्रमुख, इञ्जिनीयर र स्थानीय बासिन्दालाई समावेश गरिने उनले जानकारी दिए ।

नगरपालिकाले बोङखोला/थाङखोला र कयरखोलामा बोलपत्र आह्वान गरेको हो । जेठ मसान्तसम्मका लागि गरिएको ठेक्का सम्झौताअनुसार बोङखोला, थाङखोलाको मात्रै रु तीन करोड ६६ लाख ४० हजार राजश्व सङ्कलन हुनेछ । कयरखोलाको भने बोलपत्र प्रक्रियामै छ । 

“यसअघि जिल्ला विकास समितिमार्फत उत्खनन हुँदा हुने गरेको अवैध उत्खनन अबदेखि हुनेछैन”, श्रेष्ठले भने, “हामी दैनिक अनुगमन गर्र्छौँ र तोकेभन्दा एक इन्च दाँया/बाँयाबाट उत्खनन गर्न दिने छैनौँ ।” उत्खननको ठेक्का पाइसकेपछि नदी नै मेरो हो भन्ने ठेकदारी प्रवृत्ति अन्त्य गरिने श्रेष्ठको दावी छ । 

प्राकृतिक स्रोतसाधन आउने पुस्तालाई हस्तान्तरण गर्ने र जोगाइराख्ने जिम्मा यही पुस्ताको भएको भन्दै उनले त्यसमा कुनै सम्झौता नहुने बताए ।

नदीमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गरेको क्षेत्रमा इनामेलको चिह्नसमेत लगाइएको प्रमुख श्रेष्ठले जानकारी दिए । जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा जिल्लास्तरीय अनुगमन तथा समन्वय समिति यसअघि नै निर्माण भइसकेको छ । यसबाहेक प्रदेश सरकारको पनि आफ्नै खालको अनुगमन समिति रहने छ । 

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७२ बमोजिम नगरपालिकाले प्राप्त गर्ने राजश्वमध्ये ६० प्रतिशत उपयोग गर्न पाउनेछ भने छ ४० प्रतिशत प्रदेश सरकारलाई बुझाउनुपर्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्