१९ असार २०८३, शुक्रबार

विराटनगरका व्यापारी आन्दोलनबाट पछि हटे, मन्त्री सहितको वार्तामा दुई बुँदे सहमति

विराटनगरका व्यापारी आन्दोलनबाट पछि हटे, मन्त्री सहितको वार्तामा दुई बुँदे सहमति

विराटनगर-  आन्दोलनरत उद्योगी व्यापारीसँग भएको वार्तामा २ बुँदे सहमती भएको छ । वित्तीय संस्थाहरुबाट अत्याधिक रुपमा बढाएको भन्दै ब्याज घटाउनु पर्ने माग राखेर विराटनगरका व्यापारी आन्दोलित थिए ।

उद्योग संगठन मोरङ र मोरङ  व्यापार संघको नेतृत्वमा भएको आन्दोलनका कार्यक्रम सार्वजनिक भएसँगै प्रदेश सरकारले माग सम्बोधन गर्न प्रयास गर्ने भन्दै माघ मसान्तसम्म आन्दोलन नगर्ने सहमति भएको थियो ।

पहिलो चरणको आन्दोलन स्थगन गरेका उद्योगी व्यवसायीसँग मंगलवार बिराटनगरमा राष्ट्रबैंकका प्रतिनिधिसहित वार्ता भएको हो । दिउँसोदेखि शुरू वार्ता साँझ २ बुँदामा सहमतिमा पुगेको हो ।

सहमतीको पहिलो बुँदामा उद्योगी व्यवसायी र निजी क्षेत्रबाट प्रस्तुत भएका बैंक व्याजदर घटाउने लगायत बैंक क्षेत्र सुधार तथा उद्योगीहरुले महसुस गर्नु परेका समस्याका बिषयमा सबै पक्ष गम्भीर भएका छन् ।

उद्योगी व्यापारीको माग प्रति सकारात्मक रहँदै तत्काल माग सम्बोधन गर्ने र केहि विषयमा क्रमश कार्यान्वयनको पहलकदमी लिने र केहि थप सुझावहरु आधिकारिक रुपमा नेपाल राष्ट्र बैंकमा पेश गर्ने सहमती भएको छ ।

त्यस्तै अब उप्रान्त निजी क्षेत्रबाट संचालित सबै क्षेत्रका आन्दोलनको नेतृत्व नेपाल उद्योग बाणिज्य महासंघले लिई सरकारसँग छलफल गर्ने तथा जिल्लाहरुसँग समन्वय गरी वार्ताको माध्यमबाट समस्याको समाधन गर्न पहल गर्ने सहमति भएको उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले जानकारी दिए ।

अर्थमन्त्री, गभर्नर सहित उद्योग वाणिज्य महासंघका पदाधिकारी सहित १५ दिनभित्र माग सम्बोधन गर्नेबारेमा काठमाडौँमा छलफल गर्ने समेत मौखिक सहमती भएको घिमिरेले बताए ।

वार्ता टोलीमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटि गभर्नर चिन्तामणी सिवाकोटी, बैङ्कर्स एशोसियसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, उद्योग संगठन मोरङ, मोरङ ब्यापार संघ, उद्योग वाणिज्य महासंघका पदाधिकारीहरु सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्