
काठमाडौं– ‘संविधान र संघीयताको मर्म विपरित ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरीक्षण र समन्वय विधेयक’ ल्याएको भन्दै सत्तारुढ सांसदले नै सरकारको आलोचना गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विधेयकमाथि भएको छलफलमा भाग लिँदै सत्तारुढ सांसदहरुले विधयेक हुबहु पास भए संघ र प्रदेशबीच थप द्वन्द्व हुने चेतावनी दिए ।
छलफलमा भाग लिँदै सत्तारुढ सांसदहरु जर्नादन शर्मा, नवराज सिलवाल, रेखा शर्मा, प्रदीप यादव, प्रमुख विपक्षी कांग्रेसका अमरेशकुमार सिंह, भरतकुमार साह लगायतले संविधान विपरीत विधेयक आएको भन्दै आलोचना गरे । उनीहरुले सीडीओलाई सबै अधिकार दिन नहुने बताए । बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रहरीको परिचालन प्रदेश सरकारले नै गर्ने र सीडीओले त्यसको समन्यवय गर्ने बताए ।
नेविसंघको कार्य समिति भंग
नेपाली कांग्रेसले भातृ संगठन नेपाल विद्यार्थी संघको कार्यसमिति भंग गरेको छ । मंगलबार बसको केन्द्रीय कार्यसमिति बैठकले नैनसिंह महरको अध्यक्षतामा रहेको कार्यसमितिको समयावधी समाप्त भैसकेकोले नेविसंघको कार्यसमिति भंग गरेको हो । बैठकले महरको कार्यकालमा भएका सबै निर्णय र मनोनयन बदर गर्ने निर्णय गरेको छ ।
संघको वर्तमान केन्द्रीय कार्यसमितिको यही माघ २ गते स्वतः म्याद समाप्त भएको थियो । कार्यसमितिको म्याद समाप्त भएपछि संघका अध्यक्ष महरले पार्टी नेतृत्वको निर्देशनअनुसार माघ २८ गते पदबाट राजीनामा दिएका थिए । सोही दिन राजीनामा स्वीकृत भएको थियो ।
कांग्रेसमा केन्द्रीय पदाधिकारी र सदस्यले पार्टीको वडा समितिबाटै निर्वाचित हुनुपर्ने विषयमा बहस जारी छ । केन्द्रीय कार्यसमितिको अर्को बैठक आगामी बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
विधेयक छलफलका लागि पठाउन अनुमति
प्रतिनिधिसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन अनुमति दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रस्तुत गरेको ‘कर्मचारी समायोजन विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धीत समितिमा पठाईयोस्’ भन्ने प्रस्तावलाई सदनले स्वीकृति दिएको हो ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको तर्फबाट मन्त्री ढकालले प्रस्तुत गरेको “विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भन्ने प्रस्तावलाई पनि सदनले अनुमोदन गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘भूउपयोग विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी गरेको प्रस्ताव पनि बैठकले सर्वसम्मतिले अनुमोदन गरेको छ ।
यस्तै बैठकले नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरेको छ ।
आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का रिहा
नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । विशेष अदालत काठमाडौंका अध्यक्ष बाबुराम अर्याल र सदस्यहरु प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
सार्वजनिक पदको दुरुपयोग गरी १८ करोड ६६ लाख बराबर भ्रष्टाचार गरेको आरोप लागेका खड्का नेपाल इन्भेस्टमेन्ट बैंकले बैंक ग्यारेन्टी गरेपछि रिहा भए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध गत पुस २३ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
नेपाल–भारत सीमा क्षेत्रसम्म जलमार्ग तयार हुने
भारत सरकारले एक वर्षभित्र नेपाल–भारत सीमा क्षेत्रको त्रिवेणीघाटसम्म जल यातायातको सञ्जाल विस्तार हुने भन्दै त्यसबाट फाइदा लिन नेपाल सरकारलाई आग्रह गरेको छ । भारत भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र भारतका जलस्रोत, नदी विकास तथा गङ्गा संरक्षणमन्त्री नितिन गडकरीबीच बुधबार भएको द्विपक्षीय भेटवार्ताका क्रममा भारतीय पक्षले सो आग्रह गरेको हो ।
नेपाल सरकारले समेत पानीजहाज सञ्चालनका लागि कार्यालय स्थापना गरेको र अध्ययनको प्रक्रियासमेत शुरु गरेको सन्दर्भमा भारत सरकारले नै नेपाल–भारत सीमा क्षेत्रसँग पानीजहाज सञ्चालनका लागि आवश्यक तयारी गरेको र एक वर्षभित्र सो कार्य सम्पन्न हुनेसमेत जानकारी गराएको हो । कोलकत्ता हुँदै हल्दियादेखि नारायणी नदी तथा दुई देशको सीमा त्रिवेणीघाटसम्मको जल यातायात मार्गको निर्माण सम्पन्न हुने भन्दै भारतीय पक्षले त्यसबाट नेपालले बढीभन्दा बढी लाभ लिनसक्ने बताएको थियो ।
डीपीएलमा रुपन्देहीको दोस्रो जित
धनगढीमा जारी धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा रुपन्देही च्यालेन्जर्स र सिवाइसी अत्तरियाले जित निकालेका छन् । दोस्रो खेलमा विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै बसन्त रेग्मीको रुपन्देहीले लगातार दोस्रो जित निकालेको हो ।
फाप्ला क्रिकेट मैदानमा करण केसीको कप्तानीमा रहेको विराटनगरले दिएको ९४ रनको सामान्य लक्ष्य भैरहवाले १३ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ९३ रन बनाएको थियो ।
यस्तै पहिलो खेलमा सिवाइसी अत्तरियासँग ६ रनले पराजित हुँदै आयोजक धनगढीले आफ्नो दोस्रो खेल पनि गुमाएको छ । अत्तरियाले दिएको ९६ रनको लक्ष्य पछ्याउने क्रममा धनगढीले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै ९० रन मात्रै बनाउन सक्यो । दोस्रो जितसंगै रुपन्देही लिगको शीर्ष स्थानमा उक्लिएको छ ।