
काठमाडौं– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र समस्या सिर्जना गर्ने कोशिश थामिसक्नु नभएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा समारोहलाई बिहीवार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने कोशिश पनि जारी रहेको बताएका हुन् ।
‘सजगताको रूपमा लिन चाहन्छु, प्रयास जे भएका छन्, म त्यो देखिरहेको छु । अहिले सरकार सञ्चालन गर्ने नेकपा हो । त्यसभित्र समस्या सिर्जना गर्ने कोशिश ओहो! थामिसक्नु छैन,’ ओलीले भने ।
नेकपाका दुई अध्यक्षलाई दुईथरी कुरा सुनाउने र फूट ल्याउन प्रयास गर्ने काम भइरहेको संकेत उनले गरे ।
‘बाको कानमा गएर भन्ने, बा! आमा बोक्सी छन् । आमाको कानमा गएर भन्ने, आमा! बा जड्याहा भइसके । दुवैले पत्याउँदैनन्, फेरि भन्ने, बा! पत्याउनुहुन्न के गर्ने, तर आमा भरे मुख सुँघ्न आउँछिन् । आमाको कानमा गएर भन्ने तपाईं पत्याउनुहुन्न गएर मुख सुँघ्नुस् न कस्तो गन्हाउँछ । नभन्दै आमाले गएर मुख सुँघ्छिन् । रक्सी त गन्हाएको हुँदैन, तर बाउलाई पक्का हुन्छ कि मुख सुँघ्न आई, बोक्सी त रहिछ । यस्ता प्रयासहरू थुप्रो भएका छन्, तर प्रयास नगरे पनि हुन्छ । न यहाँ आमाले मुख सुँघ्न जानेछिन्, न बाले बोक्सीको आरोप लगाउँछन्, यहाँ त्यो कुनै चल्नेवाला छैन,’ प्रधानमन्त्री ओलीले भने ।
अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने खुब कोशिश !
प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने कोशिश भइरहेको समेत बताए । ‘अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने खुब कोशिश भइरहेको छ, खुब कोशिश । मैले सार्वभौम सत्ताको कुरा गर्दा सार्वभौम सत्ता नै किन उल्लेख गर्नुपर्यो, कोप्रति लक्षित छ ? भनेर प्रश्न गरे । यताउता सुनाउने विभिन्न यस्ता प्रयास देखिरहनुभएको छ । ती प्रयास कुनै काम लाग्ने छैनन्,’ ओलीले भने ।
ओलीले कुनै पनि मुलुकको कार्ड अर्कोविरुद्ध नखेल्ने बताए । ‘कुनै छिमेकीका विरुद्ध कुनै कार्ड खेल्दैनौं, दुनियामा हाम्रा कोही शत्रु छैनन्, सबै मित्र छन्,’ ओलीले भने ।
सरकार नयाँ संकल्पका साथ अगाडि बढिरहेको समयमा यस प्रयासलाई भड्काउने र बिथोल्ने उद्देश्यसहित भ्रम फिजाउँने खालका गतिविधि सह्य नहुने प्रधानमन्त्री ओलीले बताए ।