गोरखा - ऐतिहासिक तथा प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरबाट प्रसिद्धी कमाएको गोरखा मनकामनाको पहिचान अब त्यतिले मात्र पनि अपुरे हुन थालेको छ ।
विशेषगरी कात्तिकदेखि फागुन महिनासम्म हरेक फलफूल पसल र फलफूलको बजारमा मनकामनाको चर्चा हुने गर्छ त्यहाँ उत्पादन हुने सुन्तलाका कारण । जुनसुकै ग्राहक सुन्तला पसल या सुन्तलाको बजारमा पुग्दा सुन्तला देख्ने बित्तिकै उसले पहिले सोध्ने गर्छन्, यो कहाँको सुन्तला हो ? अनि व्यापारीको जवाफ हुन्छ- गोरखा अथवा मनकामनाको । मनकामनाको सुन्तलाको स्वाद चाख्न सबै लालाहित हुन्छन् ।
गोरखाको मनकामना क्षेत्रमा अहिले मात्र होइन पहिलेदेखि नै सुन्तलाका लागि चर्चित क्षेत्र मानिन्छ । त्यहाँको ढाँटबारी क्षेत्रमा सुन्तलाखेती नगर्ने परिवार प्रायः शून्यजस्तै छ । अन्य क्षेत्रको सुन्तलाभन्दा बढी गुलियो र स्वादिलो हुने भएकाले मनकामनाको सुन्तलालाई सबै रुचाउने गरेका हुन् ।
मनकामना क्षेत्रमा कात्तिक महिना शुरू भएसँगै सुन्तला व्यवसायी बगैँचामा पुगेर सुन्तलाको मोलमलाइ गर्न शुरू गर्ने गर्छन् । बोटमै छिटो ठेक्का लिँदा केही सस्तो पर्न जाने भएपछि ठेकेदार कात्तिक लागेसँगै मनकामनाको सुन्तला बगैँचामा सुन्तला खरिदका लागि डुल्ने गरेको विगत २० वर्षदेखि सुन्तलाको व्यवसाय गर्दै आएका ठेकेदार लिलाम्बर थापाले बताए ।
'यहाँ कात्तिक शुरू भएपछि बगैँचामै पुगेर सुन्तलाको मोलमलाइ शुरू हुन्छ,' उनले भने, 'शुरूमै ठेक्का लिन सके अलि कम मूल्यमा पाइने र राम्रो नाफा गर्न सकिन्छ तर जति ढिलो भयो उति यहाँको सुन्तलाको मूल्य बढ्न थाल्छ ।' मनकामना क्षेत्रमा सुन्तलाको बोटमा फूल खेल्ने बेलासम्म पनि लटरम्म पहेँला सुन्तलाका दाना देख्न पाइन्छ । स्थानीय किसान दलबहादुर थापाले भने, 'माघको दोस्रो हप्तादेखि सुन्तलाको भाउ राम्रो आउँछ त्यही भएर पनि यहाँका किसानले ढिलोसम्म बोटमा सुन्तला राख्ने गरेका हुन् ।'
ढाँटबारीलगायतका आसपासका क्षेत्रका सुन्तला किसानले मङ्सिरका अन्त्यदेखि फागुनको अन्त्यसम्म सुन्तला बिक्री गर्ने गरेको उनको भनाइ छ । 'अहिलेको साल शुरू–शुरूमा सानो सुन्तला किलोको ५० रुपैयाँदेखि ठूलो १०० रुपैयाँसम्ममा बिक्री गरेका थियौं,' थापाले भने, तर हिजोआज भने ठूलो सुन्तला किलोको १७० रुपैयाँसम्ममा बिक्री हुन्छ ।'
करीब ६०० बोट सुन्तलाखेती गर्दै आएका थापाले सुन्तला बिक्रीबाट मात्रै वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । मनकामनामा अत्यधिक मात्रामा धार्मिक पर्यटक पुग्ने गरेकाले त्यहाँ उत्पादन हुने गरेको सुन्तला स्थानीय बजारमा समेत राम्रै बिक्री हुने गरेको उनी बताउँछन् । 'हामी कहाँ सबै किसानले बारीमा रहेका सबै सुन्तला ठेकेदारमार्फत बिक्री गर्दैनन्,' थापाले भने, 'मनकामनाको बजारमा पुर्याएर खुद्रा मूल्यमा बिक्री गर्दा झनै राम्रो मूल्य आउने भएकाले अधिकांशले केही बोट बाँकी राखेर आफैंले बजारमा समेत लैजाने गरेका छन् ।'
मनकामना क्षेत्रमा सुन्तला जति ढिलोसम्म राख्न सक्यो त्यति राम्रो मूल्य आउने भएपछि सुन्तला किसानले लामो समयसम्म भण्डार गर्न मिल्ने गरी ढाँटबारी क्षेत्रमा ‘सुन्तला कोल्ड स्टोर’ समेत निर्माण गरेको उनले जानकारी दिए । प्रधानमन्त्री कृषि आधनिकीकरण परियोजना सुन्तला जात फलफूल जोनको सहयोगमा त्यस क्षेत्रमा दुई वटा कोल्ड स्टोर निर्माणको काम शुरू भएको किसान थापाले जानकारी दिए ।
'स्टोर निर्माण भइरहेको छ,' उनले भने, 'कोल्ड स्टोरमा सुन्तला राख्दा वैशाखसम्म राख्न मिल्छ भनेर प्राविधिकले भन्नुभएको छ ।' थापाजस्तै ढाँटबारीकी लोकमाया श्रेष्ठले पनि ढिलो गरी बिक्री गर्दा सुन्तलाको भाउ राम्रो आउने भएपछि आफूले ढिलो गरी बिक्री शुरू गरेको बताउँछिन् । उनले भनिन्, 'अलिपछि बिक्री गर्दा भाउ आउने भएकाले राम्रो नाफा हुन्छ, यही सुन्तला काठमाडौं पठाउँदा प्रतिकिलो १०० रुपैयाँ मात्र पाउँछौं तर आफैंले यहाँ बेच्दा त्योभन्दा धेरैमा बिक्री हुन्छ ।'
उपयुक्त हावापानीका कारण पनि मनकामनाको सुन्तला लामो समयसम्म बोटमा अड्ने गरेको उनको भनाइ छ । 'ढिलो गरी बिक्री गर्दा होलसेलभन्दा खुद्रामा बढी बिक्री गरिन्छ,' श्रेष्ठले भनिन्, 'फागुनको पहिलो हप्तासम्म पनि बोटैबाट सुन्तला टिपेर खान पाउँदा उपभोक्ता पनि खुशी हुन्छन्, राम्रो मूल्य आउने भएपछि किसानलाई पनि फाइदा ।'
उनले सुन्तलाको मौसम सकिँदासमेत बोटमा सुन्तला पाउने भएपछि उपभोक्तालाई त्यसको चिज हुने भएकाले जति पछि उति राम्रो मूल्य पाउने गरेको बताइन् । मनकामना क्षेत्रमा उत्पादन हुने सुन्तलाको बजारका लागि पनि कुनै समस्या नहुने अर्का किसान रुद्रबहादुर थापाको भनाइ छ । 'ठेकेदार आउँछन्, सुन्तलाको बगैँचा नै ठेक्का लिन्छन् र अगाडि नै पैसा दिएर आफैंले बोटको सुन्तला टिपेर लैजान्छन्, किसानलाई कुनै समस्या हुँदैन,' उनले भने । बजारमा राम्रो मूल्य, उपभोक्ताको रोजाइ र उत्पादनका हिसाबले राम्रो उत्पादन हुने भएकाले मनकामना क्षेत्रमा सुन्तला व्यवसायिक खेतीसमेत बढ्दै गएको थापाले जानकारी दिए ।
मनकामना क्षेत्रमा अझै पनि १५ प्रतिशतभन्दा सुन्तला बोटबाटै टिप्न बाँकी रहेको ढाटबारी कृषि सहकारी संस्थाका अध्यक्ष कृषि आलेले जानकारी दिए । उनले मनकामना क्षेत्रको सबै सुन्तला बजारमा पग्न बाँकी नै रहेको भन्दै यस वर्ष कति उत्पादन भएको त्यसको तथ्याङ्क सङ्कलनको काम भइरहेको बताए ।
'यहाँ हरेकको बारीमा कम्तीमा १० वटा भन्दा धेरै सुन्तलाका बोट छन्,' उनले भने, 'त्यसबाट एउटै परिवारले वार्षिक थोरैमा ५० हजारदेखि २३ लाख रुपैयाँसम्म कमाउने गर्दछन् ।' अन्य ठाउँको सुन्तलालाई समेत व्यापारीले मनकामनाको सुन्तला भनेर बिक्री गर्न थालेको भन्दै अहिले त्यस क्षेत्रको सुन्तलाको पहिचान जोगाउन किसानले सुन्तलामा स्टिकर टाँसेर बजारमा पठाउने गरेकासमेत छन् ।
मनकामनामा उत्पादित सुन्तलाको ‘ब्रान्ड चोरेर अन्यत्रको सुन्तलाको बिक्री बढेपछि जिल्ला कृषि विकास कार्यालय गोरखाको प्राविधिक सहयोगमा साना किसान कृषि सहकारी संस्थाले यस वर्षदेखि मनकामनाको सुन्तलामा स्टिकर (लोगो) टाँसेर बजारमा बिक्री गर्न शुरू गरेको छ । सुन्तलामा लोगो टाँस गर्न साना किसान कृषि सहकारीले छ लाख रुपैयाँ र जिल्ला कृषि विकास कार्यालयमार्फत प्याक्ट कार्यक्रममार्फत १० लाख रुपैयाँले उपलब्ध गराएको थियो ।
मनकामना क्षेत्रमा अहिले करीब ९८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल जोन कार्यक्रम गोरखाका प्रमुख अजय अधिकारीले जानकारी दिए । 'जिल्लाको कूल सुन्तला उत्पादनमध्ये मनकामना क्षेत्रमा मात्रै ५५ प्रतिशत सुन्तला उत्पादन हुन्छ,' उनले भने, 'अन्य क्षेत्रको सुन्तलाभन्दा मनकामनाको सुन्तलाको बजार बढी माग हुनेसमेत गर्दछ ।' दीपक श्रेष्ठ/रासस