
पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले आगामी बर्षदेखि प्रदेश सरकारकाले पोखरा म्याराथनको पुरस्कार राशी वृद्धि गर्ने बताएका छन् । मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले ल्याउने आगामी बजेटबाट पोखरा म्याराथनको पुरस्कार वृद्धि गरी १० हजार डलर सम्म पु¥याउन पहल गर्ने आश्वासन दिएका हुन् ।
१३औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनको पूर्वसन्ध्यामा मुख्यमन्त्रीको कार्यालयमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले आगामी वर्षदेखि पोखरा म्याराथनको पुरस्कार राशी वृद्धि गरी अन्तर्राष्ट्रिय धावकहरु पोखरासम्म ल्याउने वातावरण बनाउन आग्रह गरे ।
मुख्यमन्त्री गुरुङले मन्त्री, प्रमुख सचिव, योजना आयोगका उपाध्यक्ष, सचिव लगायत उच्चपदस्थ पदाधिकारीलाई यही फागुन ७ गते पोखरामा आयोजित पोखरा म्याराथन सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह गरे ।
उनले पोखरा बिस्तारै खेल पर्यटनतर्फ उन्मुख भएको बताउँदै खेलको विकाससंगै पर्यटन प्रवर्द्धनमा जुट्न सबैलाई आग्रह गरे ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मत्री किरण गुरुङले आगामी दिनमा पोखरा म्याराथन मार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय बजारमा म्याराथनको ‘ब्रान्डिङ’ गर्नुपर्ने बताए । ‘पोखरा म्याराथनलाई व्यवस्थित बनाउँदै लैजानु पर्छ,’ उनले भने, ‘पुरस्कार राशीमा समेत वृद्धि गर्नुपर्छ ।’
मन्त्री गुरुङले पुरस्कार राशीमा वृद्धी गरि पोखरा म्याराथनमा अन्तर्राष्ट्रिय ‘प्रोफेसनल’ खेलाडी आउन सक्ने वातावरण बनाउनु पर्ने बताए । उनले म्याराथनको पुरस्कार राशी कम्तीमा पनि १० हजार डलर पु¥याउन आवश्यक रहेको औंल्याए ।
बैठकमा बोल्दै भूतपूर्व खेलाडी मन्चका अध्यक्ष तेज गुरुङले पोखरा म्याराथनको १३ औं संस्करणमा आइपुग्दा आफूहरु निकै उत्साहित भएको बताए । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपालीहरुले देखाएको सद्भावसँगै प्रदेश सरकार र पोखरा महानगरपालिकाबाट प्राप्त सहयोगले आगामी दिनमा पोखरा म्याराथन नयाँ जगबाट उभ्याउन सहयोग मिल्ने बताए ।