२० असार २०८३, शनिबार

६९ औं प्रजातन्त्र दिवस तीन दिन मनाइने

६९ औं प्रजातन्त्र दिवस तीन दिन मनाइने

काठमाडौं-आगामी ६९ औं प्रजातन्त्र दिवस सोमवारदेखि तीन दिनसम्म भव्यताका साथ मनाइँदैछ । यसै अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर सञ्चालनमा रहेका सरकारी तथा निजी छापामाध्यम, एफएम रेडियो, टेलिभिजनलगायत अन्य सञ्चारमाध्यमहरूलाई प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई समाचार प्रसारण, बुलेटिन, परिसम्वाद, अन्तरक्रिया आदि कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको हो । 

प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा गठित प्रचारप्रसार उपसमितिको आइतवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा बसेको बैठकले सो आह्वान गर्दै नेपाल टेलिभिजन र रेडियो नेपालबाट फागुन ७ गते सैनिकमञ्च, टुँडिखेलमा आयोजना हुने कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने र अन्य टेलिभिजनहरुले ‘हुक’ गर्नसक्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । 

बैठकले राष्ट्रिय समाचार समिति (रासस) ले प्रजातन्त्र दिवससम्बन्धी विविध सामग्री तयार गरीे सम्प्रेषण गर्ने व्यवस्था मिलाउने, रेडियो नेपाल र नेपाल टेलिभिजनबाट परिसम्बाद कार्यक्रम सञ्चालन गर्ने तथा गोरखापत्र संस्थानले आफ्ना सबै प्रकाशनमा प्रजातन्त्रको महत्व दर्शाउँदै सूचनामूलक विशेषाङ्क, लेख रचना प्रकाशन गर्ने निर्णयसमेत गरेको छ । सोही अवसरमा दूरसञ्चार प्राधिकरणमार्फत दूरसञ्चार प्रदायक संस्थाहरुले प्रजातन्त्र दिवसका शुभकामना सन्देश प्रवाह गर्ने व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ । 

प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन भएको थियो । 

सो अवसरमा सचिव गुरुङले प्रजातन्त्र दिवसका महत्वका बारेमा आम नागरिकलाई सुसूचित हुनेगरी समाचार, विचार सम्प्रेषण गर्न आग्रह गरे । उनले भने, 'हामी नेपाली जो जहाँ छौँ, प्रजातन्त्र दिवस भव्यरुपले मनाऔँ ।' 

बैठकमा राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत अन्य निकायका प्रमुखको सहभागिता रहेको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्