काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गायक पशुपति शर्माको गीतसँग दुई तिहाइको सरकार थरर काँपेको आरोप लगाएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कुनै गीत गाएबापत आलोचित हुने या प्रशंसा कमाउन पाउने गायकको नैसर्गिक अधिकारको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका हुन् ।
‘पशुपति शर्माको गीतको सम्बन्धमा म यत्ति भन्छु– कति बलियो होला दुई तिहाइको सरकार एउटा गीतले थरर काँप्ने ?,’ प्रवक्ता शर्माले भने । प्रवक्ता शर्माले सरकारले सामाजिक सञ्जाललाई समेत नियन्त्रण गरेर अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाउन खोजेको टिप्पणी गरे ।