
काठमाडौं — लन्डनमा रहेको हाइगेट चिहानमा कार्ल मार्क्सको प्रतिमामा एक महिनाको अन्तरमा दोस्रोपटक आक्रमण गरिएको छ ।
प्रतिमामा ‘घृणाको सिद्धान्त’ तथा ‘नरसंहारका योजनाकार’ भनी रातो पेन्टले दलिएको थियो ।
चिहान उत्तरी लन्डनमा रहेको छ ।
दुई हप्ताअघि चिहानको सिंगमरमरको प्लाकमा कोतर्ने प्रयास गरिएको थियो र स्ल्याबबाट मार्क्सको नाम ह्याम्मर हानेर उप्काउन कोशिश गरिएको थियो ।
शनिवार चिहानमा पुगेका म्याक्सवेल ब्लोफील्डले आक्रमणबाट निकै स्तब्ध भएको बताए ।
उनी ब्रिटिश म्युजियममा काम गर्छन् । उनले भने, ‘यो मसानघाटको आकर्षण थियो । रातो पेन्ट त हराउला तर यस्तो किसिमको क्षति दुईचोटि हुनु राम्रो कुरा हैन ।’
अघिल्लो ह्याम्मर आक्रमणपछि फ्रेन्ड्स अफ हाइगेट सिमेटरी ट्रस्टले यो जानाजान गरिएको आक्रमण भएको बतायो ।
ट्रस्टका प्रमुख कार्यकारी इयन डंगाभेलले यो आक्रमण निकै निराश बनाउने किसिमको भएको बताए ।
मार्क्सको यो प्रतिमामा मार्क्स ग्रेभ ट्रस्टको स्वामित्व छ र यसलाई मार्क्स मेमोरियल लाइब्रेरीले प्रतिनिधित्व गर्छ ।
द गार्डियनबाट