२३ असार २०८३, मंगलबार

डाक्टर नर्स हिँडे अस्पतालको स्थापना दिवसमा, बिरामीको बिचल्ली

फागुन ७, २०७५
डाक्टर नर्स हिँडे अस्पतालको स्थापना दिवसमा, बिरामीको बिचल्ली

सुर्खेत - कर्णाली प्रदेश अस्पताल परिसरमा मंगलबार अनौठो दृश्य देखियो । डाक्टर र नर्स तथा अन्य कर्मचारीहरु अस्पतालको स्थापना दिवसमा बस्दा सेवाग्राही भने मारमा परेका छन् । अस्पतालको स्थापना दिवस गत वर्ष नै कर्णालीका मुख्यमन्त्रीले नगर्न निर्देशन दिएपनि यो वर्ष पनि आयोजना गरिएको हो ।

अस्पतालको स्थापना दिवसमा डाक्टर र नर्सहरु सहभागि भएपछि आफूहरुलाई सास्ती भएको एक विरामीले बताए । 'म यहाँ आएको दुइ घण्टा पुग्न लाग्यो,' उनले भनिन, 'डाक्टर साब र नर्सहरु कार्यक्रममा हुँदा मैले सहज रुपमा सेवा पाउन सकिन ।'

साठी हजारलाई सेवा दिइयो

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल (साविकको मप क्षेत्रीय अस्पताल)ले गत आर्थिक वर्षमा ६० हजार बढी विरामीलाई उपचार सेवा दिएको छ । प्रदेश अस्पताल स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सो जानकारी दिदैं यस अस्पतालले मुख्यगरी कर्णाली प्रदेशका बासिन्दाहरुलाई उपचार गरिरहेको छ ।

गत आर्थिक वर्षमा अस्पतालको बहिरंग सेवाबाट ६० हजार बढी र आकस्मिकमा करिव १० हजार नागरिकले सेवा लिएको अस्पतालले जनाएको छ । अन्तरंग सेवाबाट १२ हजार बढी र करिव ४ हजारलाई सुत्केरी सेवा दिइएको छ ।

मेजर अप्रेशन करिब एक हजार ५ सय वटा गरिएको छ । साविकको ५० शैयाबाट अहिले ११५ शैया पु¥याएको छ । ३०० शैयाको नयाँ भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी आर्थिक बर्षदेखि सो भवनबाट सेवा संचालन गरिने अस्पतालमा प्रमुख मेसु डा. डम्बर खड्काले जानकारी दिए ।

अस्पतालले स्त्री तथा प्रसूती विभाग, शल्यचिकित्सा विभाग, मेडिसियन विभाग, हाडजोर्नी विभाग, बालरोग विभाग, नसा तथा मानसिक रोग विभाग, दन्तरोग विभाग, फिजियोथेरापी सेवाहरु संचालन गरिरहेको छ ।

५५ जना आङ खस्ने महिलाको अप्रेशन र ३६ जनाको फिस्टुलाको अप्रेशन गरिएको छ । भर्ना भइ उपचार लिएको मध्ये ९७ प्रतिशत विरामी निको भएको दावी अस्पतालले गरेको अस्पताल विकास समितिका अध्यक्ष श्यामलाल कँडेलले जनाए ।

यसैवीच प्रदेश अस्पताल स्थापना दिवसको अवसरमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश अस्पताललाई स्तरोन्नति गरी प्रदेशकै मेडिकल कलेजको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले जनशक्ति र उपकरणको व्यवस्थागर्नपनि पहल गरिने आश्वासन दिए । अस्पताल विकास समितिका अध्यक्ष श्यामलाल कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले प्रदेश अस्पतालको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए भने सो अवसरमा अस्पतालका हाडजोर्नी डा. हरि सापकोटा र कार्यालय सहयोगी पूर्णा सार्कीलाई सम्मान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्