२७ असार २०८३, शनिबार

योग्यता पुर्‍याउन शिक्षकलाई पाँच वर्षको म्याद, १२० महिलाको हत्या परिवारबाटै

योग्यता पुर्‍याउन शिक्षकलाई पाँच वर्षको म्याद, १२० महिलाको हत्या परिवारबाटै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम सेती जलविद्युत् आयोजना यसै सरकारको पालामा निर्माण हुने बताउनुभएको छ । नेपाल  विद्युत् प्राधिकरण स्याउले  १३२/३३/१२१ केभी सबस्टेशन उद्घाटन गर्न डडेल्धुरा अमरगढी नगरपालिका–१ दूधकाँडेमा पुग्नुभएका प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशमा विधुतीकरण, सडक यातायात, शिक्षा बेरोजगारजस्ता समस्या समाधान गर्ने बताउनुभयो । 

डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न जिल्ला भारतसँग जोडिएका क्षेत्रमा पक्की पुल हुने ठाउँमा पक्की पुल बनाउने, सम्भावना भएका ठाउँमा झोलुङ्गे पुल र पक्की तथा झोलुङ्गे पुलको सम्भावना नभएका स्थानमा तुइन विस्थापित गर्दै केबुलकार सञ्चालन गरिने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा निर्माणमन्त्री रघुवीर महासेठ, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधर विकासमन्त्री पठानसिंह बोहरा र नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उपस्थिति थियो ।

योग्यता पुर्‍याउन शिक्षकलाई पाँच वर्षको म्याद
विद्यालयमा अध्यापन गरिरहेका तर योग्यता नपुगेका शिक्षकहरूले पाँच वर्षभित्र योग्यता पुर्याउनुपर्ने भएको छ । सरकारले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा आधारभूत तहमा अध्यापन गराउन कम्तीमा स्नातक र माध्यमिक तहमा कम्तीमा स्नातकोत्तर तह हुनुपर्ने व्यवस्था गरेपछि योग्यता नपुगेका शिक्षकले अनिवार्य रूपमा स्नातक वा स्नातकोत्तर तह पूरा गर्नुपर्ने भएको छ । 

प्रस्तावमा बालविकास केन्द्र (ईसीडी) र कक्षा १ देखि ३ सम्म अध्यापन गराउन भने कक्षा १२ वा प्रविणता प्रमाणपत्र तह अध्ययन पूरा गरे पुग्ने भएको छ । हाल सार्वजनिक भएको मस्यौदा प्रति नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । ‘मस्यौदामा यस्तो विषय उल्लेख भएको सुनेको छु । यस्तो व्यवस्था गर्न लागेको भए हामी मान्दैनौँ, महासंघका अध्यक्ष बाबुराम थापाले भने । पाँच वर्षभित्र योग्यता र्पुयाउने विषय हटाउनुपर्ने उनले बताए । 

‘स्नातक तह पूरा गर्न चार वर्ष लाग्ने अवस्थामा कसरी पाँच वर्षभित्र स्नातकोत्तर तह पूरा गर्न सकिन्छ’, उनले भने । मस्यौदामा पाच वर्ष उल्लेख भए त्यसलाई सच्याएर सात वर्ष कायम गर्नुपर्ने उनको भनाइ छ ।, नेपाल समाचारपत्रमा खबर छ । 

तनहुँ सेतीले तोड्यो सिएमसीसँगको ठेक्का
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रो पावर लिमिटेडले इटालीको ठेकेदार सिएमसीसँगको ठेक्का सम्झौता तोडेको छ ।     तोकिएको समयमा ठेकेदार काम गर्न नआएपछि आयोजनाले ठेक्का सम्झौता तोडेको हो । 

कूल १४० मेगावाट क्षमताको सो आयोजनाका लागि कम्पनीले गत असोज १५ गते  निर्माण व्यवसायी छनोट गरेको थियो । आयोजनाको नदी फर्काउने, बाँध लगायतका संरचना निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी सिएमसी छनोट भएको थियो । 

आयोजनाले ठेकेदार कम्पनीसँग रु २० अर्ब ६४ करोड ५२ लाखमा खरीद सम्झौता गरेको थियो । सिएमसीसँगको ठेक्का सम्झौता तोडिएपछि नयाँ प्रक्रियाबाट ठेकेदार छनोटको काम अगाडि बढ्ने प्रबन्ध सञ्चालक थिकेले जानकारी दिए । लगानीकर्ता एशियाली विकास बैंक र युरोपियन इन्भेस्ट बैंक लगायतका निकायसँग आवश्यक छलफल र परामर्शपछि उपयुक्त निर्णय लिइने उहाँको भनाइ छ । सिएमसीले रु एक अर्ब ९७ करोड धरौटी राखेको थियो । 

पाठकमाथि आयोगले नै छानबिन गर्ने
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकको घुस प्रकरणमा छानबिन गर्न अख्तियारले तीन सदस्यीय छानबिन समिति बनाएको छ । अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार समितिले काम सुरु गरिसकेको छ । पाठकमाथि ७८ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि उनले यही फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका थिए । 

कारवाही प्रक्रियाबारे अख्तियार र महान्यायाधिवक्ताको कार्यालयबीच परामर्श भइरहेको पनि अख्तियार श्रोतले बताएको छ । भक्तपुरस्थित नेपाल इन्जिनिरिङ कलेजको स्वामित्व विवाद विषयमा विवादित एक समूहबाट पाठकले ७८ लाख रुपैयाँ घुस लिएका थिए ।

१२० महिलाको हत्या परिवारबाटै
महिला तथा बालबालिकाविरुद्ध मानव अधिकार उल्लंघन र दुर्व्यवहारका घटना धेरै हुने गरेको पाइएको छ । गत वर्ष देशभरि १२० महिलाको हत्या परिवारबाटै भएको तथ्य अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तकमा उल्लेख छ ।

गत वर्ष मानव अधिकार उल्लंघनसम्बन्धी घटनामा पाँच हजार ११० जना पीडित भएका छन् । ती घटनामा पीडित महिला र बालबालिकाको संख्या धेरै रहेको पनि पुस्तकले औंल्याएको छ । इन्सेकको वर्ष पुस्तकमा महिला अधिकार उल्लंघनसम्बन्धी दुई हजार ८२४ र बाल अधिकारसम्बन्धी एक हजार २४८ घटना भएको उल्लेख छ ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

अन्सारीको कागजात अध्ययन गरिने
संघीय संसद्को संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको कागजात अध्ययन गर्ने निर्णय गरेको छ । समितिको सिंहदरबारमा बसेको बैठकले अन्सारीमाथि परेको उजुरीकर्तासँगको छलफलपश्चात् नागरिकता, शैक्षिक प्रमाणपत्रको कागजात अध्ययन गर्ने भएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

सभापति कर्णका अनुसार नागरिकता, शैक्षिक प्रमाणपत्र र राजनीतिक दलको सदस्य रहेको उजुरी प्रस्तावित अध्यक्ष अन्सारीमाथि परेको छ । समितिले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तावित अध्यक्ष अन्सारीको नागरिकताको सम्बन्धको परिवारको लगतसम्बन्धी सबै जानकारी माग गर्ने निर्णय गरेको छ । 

बैठकमा राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगका प्रस्तावित अध्यक्ष डा बालानन्द शर्मा र राष्ट्रिय समावेशी आयोगका प्रस्तावित अध्यक्ष डा शान्ताराज सुवेदीको सुनुवाइ शुरु भएको छ । समितिका सदस्यले दुवै प्रस्तावित अध्यक्षसँग आयोग सञ्चालनका सम्बन्धमा कार्ययोजना माग गरेका थिए । 

जवाफमा प्रस्तावित अध्यक्ष पौडेलले मुलुक सङ्घीयतमा गइसकेकाले सङ्घ, प्रदेश र स्थानीय तहको बीचको वित्त र राजश्व बाँडफाँटलाई ध्यान दिने बताए । यस्तै डा सुवेदीले आफू लामो समय निजामती सेवामा काम गरेको हुनाले समावेशीबारे राम्रो जानकार भएकाले व्यावसायिकता र इमान्दारिताका साथ काम गर्ने बताए । 

आईपीएलको खेल तालिका सार्वजनिक
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक तालिका अनुसार उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुने भएको छ । 

भारतीय क्रिकेट बोर्डले सार्वजनिक गरेको नयाँ सिजनको खेल तालिका अनुसार उद्घाटन खेल मार्च २३ मा साविकको विजेता चेन्नई र बैंगलोरबीच प्रतिस्पर्धा हुने भएको हो । भारतीय क्रिकेट बोर्डले १७ खेलको खेल तालिका सार्वजनिक गरेको हो । 

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले २४ मार्चमा पहिलो खेल खेल्नेछ । पहिलो खेलमा दिल्लीले मुम्बई ईण्डियन्ससंग प्रतिस्पर्धा गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्