
बाग्लुङ– जैमिनी नगरपालिका–८ छिस्तीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा जनकल्याण माध्यमिक विद्यालयका लेखापाल टीका भनिने तुलसी पुन, सोही विद्यालयका विद्यार्थीहरु प्रियंका पुन, एलिना पुन र ज्योति पुनको मृत्यु भएको छ ।
दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका धना श्रीष, बिष्ना श्रीष, संगम श्रीष र सम्झना पुनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ । बाँकी सात जनामध्ये कृष्ण पुन, सविना थापा, नन्दकली श्रीष, निर्मला पुन र पूजा पुनको धौलागिरी अञ्चल अस्पताल बाग्लुङमा उपचार भैरहेको छ । दुईजना समान्य उपचारपछि घर फर्किएका छन् ।
जिपमा २५ जनाभन्द बढी यात्रु सवार थिए । मंगलबार साँझ ध १ ज ७९१ नम्बरको जिप छिस्तीको रापुङ्गभीरमा दुर्घटनामा परेको हो । जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेका विद्यार्थी र अभिभावक सवार जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिप सडकदेखि करिव ७०० मिटर तल खसेको थियो ।