०६ असार २०८३, शनिबार

अमेरिकी सेनाले विराटनगरमा बनायो हिंसा प्रभावित महिला पुनर्स्थापना केन्द्रको भवन

अमेरिकी सेनाले विराटनगरमा बनायो हिंसा प्रभावित महिला पुनर्स्थापना केन्द्रको भवन

विराटनगर- अमेरिकी सेनाले बिराटनगरको खार्जी पश्चिममा गरेको निर्माण पुरा भएसँगै सरकारलाई हस्तान्तरण गरेको छ । महिला तथा बालबालिका पुनर्स्थापना केन्द्रको उद्घाटन गरिएको छ । बुधवार एक कार्यक्रमको आयोजना गरी अमेरिकी सेनाले बनाएको पुनर्स्थापना केन्द्र नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

नव निर्मित भवनको उद्घाटन गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले अमेरिकी सेनाबाट निर्माण सम्पन्न भएको भवन प्रदेश सरकारलाई हस्तान्तरण गरेको घोषणा गरिन् । उनले प्रदेश सरकार माताहतमा रहने गरी हस्तान्तरण गरिएको जानकारी दिईन् ।

उनले घरेलु हिंसा, बेचबिखन, यौन दुर्व्यवहार, घर निकालामा परेका महिलाहरुलाई पुनर्स्थापना केन्द्रमा राख्न सकिने बताईन् । उनले अमेरिकी सेनाबाट भएको सहयोगको प्रशंसा गर्दै यसको सही सदुपयोग हुनेमा आफू आशावादी रहेको बताईन् । उनले अब प्रदेश १ मा रहेका साविकका ९ वटा महिला बालबालिका कार्यालय प्रदेश सरकारलाई हस्तान्तरणको अन्तिम तयारीमा रहेको बताईन् ।

उनले यी भवनहरु महिलाको संरक्षण र हितमा प्रयोग गर्न प्रदेश सरकारलाई आग्रह गरिन् । सामाजिक विकास मन्त्री जीवन घिमिरेले अमेरिकी सेनाले संघीय सरकारलाई हस्तान्तरण गरेको संरचना संचालनको जिम्मेवारीसँगै प्रदेश सरकारको दायित्वमा आएकोमा खुसी व्यक्त गर्दै उनले प्रदेशमा एउटा सुबिधा सम्पन्न महिला हिंसा पुनर्स्थापना केन्द्रको स्थापना हुनुले धेरै महिला हिंसा प्रभावितलाई राहत मिल्ने बताए ।

अमेरिकाबाट आएका अमेरिकी सेनाका एसएफसी मुलेरले नेपालका महिलालाई यसरी सहयोग गर्न पाउनु खुसीको कुरा लागेको बताए । अमेरिकी दुतावास मार्फत अमेरिकी शेनाले यसरी सामाजिक सेवामा काम गर्दै आएको जानकारी दिए ।

त्यस्तै सिडिआर वाल्टरले अमेरीकी आर्मी संगठनले ७ करोडको लगानीमा भवन निर्माण पुरा गरेर सरकारलाई हस्तान्तरण गरेको बताए । उनले हिंसामा परेका महिला र बालबालिकाको लागि यसरी बनाईएको भवनले फाईदा पुग्ने बताए ।

३० जना अट्न सक्ने क्षमताको भवनमा १५ वटा कोठा रहेका छन् । हरेक कोठामा २ वटा बेडका दरले राखिएको छ । त्यस्तै पढ्नको लागि २ कक्षा कोठा, खाना पकाउने तथा खान खाने हल, मिटिङ हल सहितको सुविधासम्पन्न भवन निर्माण गरिएको हो ।

भवन निर्माण सक्न ७ करोड लगानी लागेको हो । भवनभित्र आवश्यक पर्ने सबै सामाग्री अमेरिकी सेनाले नै व्यवस्थापन गरिदिएको छ । भवन अमेरिकी सेनाले संघीय सरकारलाई हस्तान्तरण गरे लगत्तै संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।

अमेरिकी सेनाका मिलेरले संघीय सरकारका सह सचिव राजेन्द्र कुमार पोखरेललाई हस्तान्तरण गरेका हुन भने संघीय सरकारको तर्फबाट पोखरेल र सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ७ कठ्ठा ५ धुरमा निर्माण भएको भवनको सही सदुपयोग भएमा हिंसा प्रभावित महिलाहरुलाई ठुलो राहत मिल्ने छ । पछिल्लो समय हिंसाका घटना बढ्दै जाँदा सरकारले तत्काल उद्दार गरेर पनि संरक्षित पुनर्स्थापना गृह नहुँदा समस्या हुँदै आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्