
रसुवा– भौगोलिक विकटता एवं असहजताले गर्दा ग्रामीणवासीको सेवा प्रवाह चुस्त–दुरुस्त हुन नसकेको भन्दै यहाँको एक गाउँपालिकाले वडा थप गर्ने प्रस्ताव गरेको छ ।
कालिका गाउँपालिकाका अध्यक्ष सीतादेवी पौडेल अधिकारीका अनुसार वडा नं १ को राम्चे र वडा नं ५ को जीवजीवे क्षेत्र भूभाग तथा वडा नं ४ को धुसेनी, रूप्सेपानी, घडेरीडाँडा, भदौरे क्षेत्रमा साबिक कायम वडा सिमानालाई परिमार्जन गरी दुई ओटा वडा थप गर्न हालै सम्पन्न गाउँपालिकाको चौथो गाउँ परिषद्बाट प्रस्ताव पारित गरेको बताए ।
प्रस्तावित वडा क्षेत्रमा भएको प्राकृतिक स्रोत, सेवाग्राहीको सहजता, जनसङ्ख्यासमेत विषेशज्ञद्वारा स्थलगत अध्ययन एवं रेखाङ्कन गराई वडाहरू थप गर्ने व्यवस्थाका लागि प्रदेश सरकारमार्फत केन्द्रीय सरकारसमक्ष अनुरोध गरिएको बताइएको छ । प्रस्तावित वडा थपको स्वीकृत हुन सके राम्चेका बासिन्दालाई भने ठूलो सहयोग मिल्ने त्यस क्षेत्रका बासिन्दाको भनाइ छ । गाउँपालिकाको चौथो गाउँ परिषद्ले वडा थपको अलावा स्वास्थ्य सेवा व्यवस्थित गर्ने र एकीकृत सम्पत्ति कर समेत कायम गरी समयसाक्षेप आम नागरिकलाई सहज र सुलभ बनाएको छ ।