
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंग्याउने सम्बन्धमा गठित कार्यदलका सदस्यले सचिवालय बैठकमा थप समय माग गरेका छन् ।
नेकपा सचिवालय र कार्यदलका सदस्यको संयुक्त बैठकमा १ हप्ता म्याद थप्न माग गरिएको कार्यदल सदस्य योगेश भट्टराईले बताए ।
बैठकबाट बाहिरिएपछि सदस्य भट्टराईले भने, ‘हामीले काम सम्पन्न गर्नुपर्थ्यो । यति महत्त्वपूर्ण जिम्मेवारी थियो, पार्टी एकताको काम ढिला पनि भइरहेको छ, रिपोर्ट दिइसक्नुर्थ्यो । विभिन्न कारणले सकेनौं, अब चाहिँ छिटो सम्पन्न गर्नलाई कार्यदललाई १ हप्ता समय दिन सबैले माग गरेका छौं ।’
सचिवालयले म्याद थपेर दिएपछि कार्यदलले काम अगाडि बढाउने भट्टराईले बताए । ‘सचिवालयबाट समय प्राप्त भयो भने दिइएको जिम्मेवारी सम्बन्धी सबै विषयलाई टुंग्याएर सिफारिससहित प्रतिवेदन बुझाउँछौं भनेर भनेका छौं, सचिवालयले के निर्णय गर्छ अनि कसरी अगाडि बढ्ने भन्ने टुंगो लाग्छ,’ उनले भने ।
लामो समयसम्म गर्न नसकेको काम १ हप्तामै कसरी हुन्छ भन्ने प्रश्नमा भट्टराईले भने, ‘कहिलेकाहीँ ३ महिनामा नगरेको काम एकै दिनमा पनि हुन्छ । हाम्रो नेपालमा चमत्कार हुने गर्छ नि त ! त्यस्तै १ हप्ता भयो भने चामत्कारिक ढंगले काम गरेर रिपोर्ट बुझाउँछौं ।’
पार्टी एकताका विषय टुंग्याउन गठित कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले सचिवालयमा प्रतिवेदन बुझाएको उनले बताए । कार्यदलले समाधानसहित प्रतिवेदन तयार गर्न नसकेपछि विषय सचिवालयमा पुगेको छ । एकताका विषय टुंग्याउन नेकपा स्थायी कमिटी बैठकले कार्यदल गठन गरेको थियो ।