
बागलुङ – जिल्ला प्रशासन कार्यालय बागलुङले सेवा प्रवाहलाई चुस्त र व्यवस्थित बनाउन ‘टोकन’ प्रणाली शुरू गरेको छ ।
नागरिकता, राहदानी वितरण सहितका सेवा टोकन प्रणालीबाट प्रदान गरिने कार्यालयले जनाएको छ ।
‘पहिले आउनेलाई पहिले सेवा’को अवधारणाअनुसार टोकन प्रणाली शुरू गरिएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए । ‘सेवा लिन भनसुन गर्नुपर्ने अरुलाई गुहार्नुपर्ने अवस्था अब छैन,’ उनले भने ।
सहायता कक्षबाट टोकन लिने व्यवस्था कार्यालयले मिलाएको छ । सेवा लिने प्रकियाका बारेमा सहायता कक्षका कर्मचारीले सेवाग्राहीलाई सघाउने गरेका छन् ।
सेवा लिन सहयोगी व्यक्ति लानुपर्ने, लाममा बस्नुपर्ने, घण्टौं कुर्नुपर्ने बाध्यता हटेको जनाइएको छ । सेवा प्रवाहलाई छरितो, प्रभावकारी र झन्झटरहित बनाउन कार्यालयले सुधारको प्रयास थालेको प्रजिअ खरेलको भनाइ छ ।
कार्यालयले पहिलोपटक गत भदौमा सहायता कक्ष स्थापना गरेको थियो । सेवा सुधारअन्तर्गत ज्येष्ठ, अपाङ्गता भएका व्यक्ति, अशक्तलाई लाममा बस्नुनपर्ने व्यवस्था गरिएको छ । निवेदन, सिफारिस, फाराममा लाग्ने शुल्क पनि हटाइएको छ ।
इन्टरनेट सुविधाको लागि ‘फ्रि वाइफाइ’, विद्युतीय वडापत्र, विश्रामस्थल, प्रतिक्षालय बनाइएको छ । ‘सहायता कक्षबाटै निवेदन लेखिदिन्छौं,’ कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले भने, ‘सेवाग्राहीले शुल्क तिरेर निवेदन लेखाउनुपर्ने, बाहिरी व्यक्तिको सहयोग चाहिने अवस्था छैन ।’ कार्यालयले दलित, जनजाति प्रमाणितमा यसअघि लिइँदै आएको शुल्क पनि हटाएको छ ।
दु्रत सेवाबाट राहदानी लिने सेवाग्राहीको लागि कार्यालयमै निःशुल्क रुपमा फाराम भर्ने व्यवस्था मिलाइएको छ । भनसुन र अन्य मनशाय जोडी हुने गलत क्रियाकलाप रोकिएको कार्यालयको जिकिर छ ।