
गलकोट – एक सामाजिक संस्थाले परम्परागत मौलिक संस्कृतिको रुपमा रहेको भजनलाई संरक्षण गरी धार्मिक पर्यटकहरु भित्र्याउनका लागि राष्ट्रियस्तरको भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
जिल्लामा क्रियाशिल बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्र काठेखोला गाउँपालिका –५ को आयोजनामा महाशिवरात्रीको अवसरमा फागुन २० गते राष्ट्रियस्तरको लोकभजन प्रतियोगिता आयोजना गरिएको छ ।
जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीय स्थलका रुपमा विकास भएको ऐतिहासिक रामकोट मन्दिरमा भजन प्रतियोगिता गर्ने केन्द्रका अध्यक्ष कृष्ण कँडेलले बताए ।
काठेखोला गाउँपालिकाको एक वडा एक पहिचानअन्र्तगत बिहुँ वडा नम्बर ५ लाई गाउँपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यसमेत राखेको स्थानमा लोकभजन हुने भएको हो ।
रामकोट मन्दिरसँगैको शिवधुरीमा हालैबाट सञ्चालनमा आएको घरवास कार्यक्रम (होमस्टे)को प्रवद्र्धनका लागिसमेत भजन प्रतियोगिताले टेवा पुर्याउने आयोजकले लक्ष्य राखेको छ ।
मध्यपहाडी लोकमार्गको स्तरउन्नतिसँगै विश्वकै पर्यटकीय गन्तव्यको रुपमा रहेको ढोरपाटन जाने पर्यटकहरुको संख्या वृद्धि भएको बेला लोकमार्गसँगै जोडिएको बिँहुको शिवधुरी र रामकोटको प्रचारप्रसार गर्नका लागि लोक भजनको आयोजना गरिएको हो ।
‘राष्ट्रियस्तरको लोकभजनको आयोजना गर्दा धार्मिक संस्कृतिको संरक्षण हुन्छ,’ कँडेलले भने, ‘लोकभजनका लागि नेपालका विभिन्न ठाउँबाट आउने सहभागीका कारण यस क्षेत्रमा धार्भिक पर्यटन भित्रन सक्नेछ ।’
भजन प्रतियोगितामा नेपालका ७ वटै प्रदेशका एक–एक समूह, बागलुङ, पर्वत, म्याग्दी लगायतका जिल्लाबाट २१ भजन टिमबाट करीब ३ सय जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने भजन समूहले ५० हजार रुपैयाँ, द्वितीय हुने समूहले ३० हजार रुपैयाँ, तृतीय हुने समूहले २० हजार रुपैयाँ र सान्त्वना हुने समूहले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ ।