
काठमाडौं — जापानको ओकिनावा टापुनजिक माझीहरूले समुद्रमा १३ फीट लामो ओरफिश देखेका छन् । यी माछा देखिएपछि जापानमा भूकम्प र सुनामी जस्ता विपत आउने मान्यता जापानीहरूमा छ ।
यी माछाहरूलाई तोया पोर्टनजिक जनवरी २८ मा देखिएको हो ।
जापान टाइम्सअनुसार, दुवै माछा पक्रिइएको छ । एक माछाका केही भाग माझीहरूले खाइदिए । अर्को चाहिँ पूरा माछा तटसम्म ल्याइयो । योमितान फिशरिज कोअपरेटिभ एसोसिएसका सातोमी हिगाले दुवै माछा रहस्यमयी र सुन्दर देखिएको बताए ।
यसै वर्ष पेरु र जापानको तटमा अनेकौं मृत ओरफिश भेटिएका थिए । यसबाट भूकम्प र सुनामी आउने आशंका बढेको छ ।
जापानमा यी माछाहरूलाई रयुगु नो सुकाई (समुद्र भगवानको सन्देश ल्याउने) भनिन्छ । ओरफिश तटमा आउनु भनेको पृथ्वीको गर्भमा भूकम्प लुकेको प्रतीक हो ।
क्योदो न्युजका अनुसार, सन् २०१० मा पनि जापानका तटहरूमा मृत ओरफिश पाइएका थिए । सन् २०११ मा फुकुशिमामा भूकम्प आएपछि २० हजार मानिस मारिएका थिए ।
तर वैज्ञानिकहरूको राय यस विषयमा फरक छ । ओजु एक्वेरियमको रेखदेख गर्ने काजुसा साइबाले पृथ्वीको गर्भमा ग्लोबल वार्मिङ वा अन्य परिवर्तनका कारण जीवहरू समुद्री सतहमा देखिएको बताए ।
एजेन्सी