काठमाडौं- आउँदो चैत्र १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जानी नजानी’को ट्रेलर सार्वजनिक गरिएको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच निर्माण युनिटले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक टे«लरमा युवापुस्ताको प्रेममा आउने उदारचढावलाई प्रस्तुत गरिएको छ । युवापुस्ताको प्रेम, रोमान्स र बिछोड ट्रेलरमा उठान गरिएको छ । ट्रेलरको मेकिङ क्वालिटी पनि उच्च देखिएको छ ।
चलचित्रका मुख्य कलाकारहरु मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंहसँगै डेब्यू गर्ल निरिशा बस्नेत लगायतलाई ट्रेलरमा देखाईएको छ ।
आधुनिक प्रेमकथामा निर्मित भनिएको चलचित्र यी चार कलाकारकै वरपर घुमेको निर्माण यूनिटले जनाएको छ । । धेरै सफल चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारीले यस चलचित्रको निर्देशन गरेका हुन् ।
रोशनी केसी प्रस्तुतकर्ता रहेको चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् ।
चलचित्रमा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ ।
चलचित्र छायाँकन नेपालको रमणीयस्थलसँगै भारतको मनालीमा समेत भएको छ । चलचित्रमा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । चलचित्रमा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । चलचित्रमा अर्जुन जिसीको सम्पादन, बसन्त घर्ती मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् ।
चलचित्रलाई मोदनाथ खनाल र सागर काजी मालीले निर्माण गरेका हुन् ।