१० असार २०८३, बुधबार

ऋण तिर्न नसक्दा नागरिकता साहुको कब्जामा

फागुन १२, २०७५
ऋण तिर्न नसक्दा नागरिकता साहुको कब्जामा

जनकपुरधाम – ६५ वर्षीया सिवरती सदा (मुसहर)का श्रीमान् हमिनीको नागरिकता वर्षौंदेखि साहुको सन्दुकमा थुनिएको छ। सिवरतीले प्रमाण अभावमा आफ्नो नागरिकता बनाउन सकेकी छैनन्। यसले गर्दा उनी सामाजिक सुरक्षा भत्तालगायत राज्यका सेवा–सुविधाबाट वञ्चित छिन्।

उनका छोरो मुनेश्वरले रामअशिष यादवकहाँ बुवाको नागरिकता बन्धकी राखेर २ हजार ऋण लिएका थिए। तर, उनले पैसा फिर्ता गर्न सकेनन्। नागरिकता फर्किएन। ‘साहु–महाजन’को ताकेता र परिवारको दबाब झेल्न नसकेर मुनेश्वरले गाउँ छाडे।

धनुषा लक्ष्मीनियाँ गाउँपालिका—२ सिनुरजोडामा ४४ मुसहर परिवारको बसोबास छ। वरिपरि पक्की भवन ठडिएका छन्। मुसहर समुदायलाई भने वर्षौंदेखि रोग, भोक र शोकले सताएको छ। त्यसमध्ये पनि विपन्न छ सिरवती परिवार। सम्पत्तिका नाममा भएको नागरिकता पनि बन्धकीमा राख्नुपर्‍यो। नागरिकता नहुँदा सिवरतीजस्ता वृद्धा सरकारी सुविधाबाट वञ्चित छन्। ‘नागरिकतै नै है त वृद्धा पिल्सिन कतसँ भेटत’, मैथिलीमा उनले भनिन्। यसको अर्थ ‘नागरिकता नै छैन भने वृद्धा पेन्सन कहाँबाट भेट्छ ?’ हो। गाउँघरमा ठेट भाषामा भत्तालाई ‘पिल्सिन’ भन्छन्।

मुनेश्वरले भारतको पञ्जाव गई पैसा कमाएर बुवाको नागरिकता साहुबाट फर्काउने वाचा आमासँग गरेका थिए। ‘छोरो ऋण लिएर पञ्जाव गयो, कमाउन सकेन, रित्तै फर्कियो’, उनले भनिन्, ‘महाजनको कर्जा चुक्ता भएन, नागरिकता फर्किएन।’ अन्नपूर्ण पोष्टमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्