
काठमाडौं– एनसेल प्राइवेभ लिमिटेड (एनसेल)ले निर्दोष व्यक्तिको ज्यान जाने र घाइते हुने गरी शुक्रबार भएको बम विस्फोटको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाले स्तब्ध भएको जनाएको छ । एनसेले आइतबार जारी गरेको सार्वजनिक सूचनामा ‘समुदाय र वरपरकाे वातावरणमा त्रास फैलाउँदै आतंकित पार्ने यस्तो निन्दनीय कार्यको एनसेल घोर भत्सर्ना गर्दछ’ भनिएको छ ।
शुक्रबार बेलुका लितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडी भएको बम बिस्फोटमा घाइते भएका लम्जुङ घरभइ ललितपुरको भैंसेपाटी बस्दै आएका सिंहप्रसाद गुरुङको उपचारका क्रममा निधन भएको थियो भने काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत २५ वर्षीया उरुशा मानन्धर र ललितपुर ४ बागडोल बस्ने २६ वर्षीया प्रतिक्षा खड्का घाइते छन्।
एनसेलले देशका विभिन्न स्थानमा बेसस्टेसन (बीटीएस)हरुमा अज्ञात समूहले गरेको आगजनी र आक्रमणप्रति खेद व्यक्त गरेको छ । घटनापछि आन्तरिक सुरक्षा बढाएको एनसेलले जनाएको छ ।
बीटीएसमा आक्रमण हुँदा ग्राहमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै एनसेलले सेवा सुचारु गर्न प्रयत्न भइरहेको जनाएको छ । साथै एनसेलले कुनै शंकास्पद क्रियाकलाप देखिएमा सम्बन्धित निकायमा खबर गर्न पनि आग्रह गरेको छ ।