
काठमाडौं — साउदी अरबले अमेरिकामा आफ्नो राजदूत परिवर्तन गरेको छ । एक शाही आदेशमा शनिवार यो जानकारी दिइएको हो ।
राजकुमारी रिमा बिन्त बन्दार अमेरिकाका लागि पहिलो महिला साउदी राजदूत हुन् । उनले राजकुमार खालिद बिन सलमानको स्थान लिनेछन् । खालिदलाई उपरक्षामन्त्री बनाइएको छ ।
राजकुमार खालिद साउदीका युवराज मोहम्मद बिन सलमानका भाइ हुन् । मोहम्मद साउदी अरबका वास्तविक शासक र रक्षामन्त्री समेत हुन् ।
राजदूत परिवर्तन सन् २०१८ को अक्टोबरमा इस्तानबुलमा साउदी अरबको वाणिज्य दूतावासमा पत्रकार जमाल खशोग्गीको हत्यापछि गरिएको हो । त्यसैले यसलाई निकै महत्त्वपूर्ण मानिएको छ । खशोग्गीको हत्यापछि दुई देशबीच तनाव बढेको थियो ।
राजकुमारी रिमाले अमेरिकामा लामो समय बिताइसकेकी छन् किनकि उनका पिता त्यहाँका राजदूत रहेका थिए । उनले अमेरिकाको वाशिङटन विश्वविद्यालयबाट ग्राजुएट गरेकी छन् ।
शाही खानदानकी रिमा प्रसिद्ध महिला उद्यमी पनि हुन् । उनले आफ्नो ह्यान्डब्याग कलेक्सन पनि सार्वजनिक गरेकी छन् ।
एजेन्सी