०३ साउन २०८३, आइतबार

प्रदेश राजधानीमा नाम मात्रका सडक बत्ती, दुई करोडभन्दा बढी बजेट बालुवामा पानी !

फागुन १२, २०७५
प्रदेश राजधानीमा नाम मात्रका सडक बत्ती, दुई करोडभन्दा बढी बजेट बालुवामा पानी !

बुटवल –पश्चिम क्षेत्रको प्रमुख व्यापारिक केन्द्र बुटवल–बेलहिया (सुनौली) जोड्ने निर्माणाधीन व्यापारिक मार्गमा जडान गरिएका सौर्य सोलार बत्ती अहिले कामै नलाग्ने भएका छन् । 

सौर्य बत्ती कामै नलाग्ने भएपछि बुटवल(बेलहिया सडक विस्तार आयोजनाले बिजुलीका बत्ती जडान गर्ने योजना बनाएको छ ।

बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले निर्माण पूरा भएको क्षेत्रमा सोलार सडक बत्ती जडान गरेको थियो । पहिलो चरणमा बुटवलको राजमार्ग चौराहादेखि तिलोत्तमा नगरपालिकाको ड्राइभर टोलसम्म दुई करोड रुपैयाँभन्दा बढी लागतमा १ सय ५० सडक सौर्यबत्ती जडानगरिएको हो । यस्तै भैरहवाको बेलहियादेखि देवकोटाचोकसम्म ४० वटा सोलार बत्ती जडान गरिएको छ ।

दुई वर्ष अघि जडान गरिएकामध्ये अधिकांश सोलारबत्ती अचेल बल्दैनन् । कतिपय बल्ने बत्तीले पनि पर्याप्त उज्ज्यालो दिँदैनन् ।

‘यहाँ जडान गरिएका सडकबत्ती स्वचालित हुन् । कुनै–कुनै मात्र बल्छन् । अधिकांशले उज्ज्याले नै दिँदैनन्,’ शंकरनगरका रामदीप न्यौपानले भने, ‘सडक बत्ती नाम मात्रको भयो । काम छैन ।’

आयोजनाले तीन वर्षको वारेन्टीसहित सोलार बत्ती जडान गरेको हो ।

बिग्रिएका सोलार बत्ती ठेकेदार कम्पनीले मर्मत गरेको जनाए पनि ती जुनकिरी’ सरह छन् । आयोजनाले परीक्षणपछि सोलार बत्ती जडान गरिएको जनाए पनि त्यसको प्रभावकारिता शून्यप्रायः छ । सडक बत्ती जडान गरेपछि बढ्दो सडक दुर्घटनामा समेत कमी आउने अपेक्षा गरिएको थियो तर अचेल जेब्राक्रस नजिकका सोलार बत्ती पनि बल्न छाडेका छन् ।  सडक उज्यालो नहुँदा दुर्घटनाको जोखिम उत्तिकै रहने सवारी चालकहरू बताउँछन् ।

यो सडकमा छाडा चौपाया हिँड्ने भएकाले कयौं पटक सवारीसाधनहरू त्यस्ता चौपायासँग ठोक्किने गरेका छन् । शुरूमा जुन उत्साह र प्रचारका साथ सोलार जडान गरिएको थियो तर एक वर्ष पनि नटिकेको स्थानीय वासिन्दाहरू बताउँछन् ।

दोस्रो चरणमा ड्राइभरटोलदेखि मणिग्रामसम्म थप एक सय वटा जडान गर्ने बताएकोमा प्रभावकारिता नदेखिएपछि आयोजना सोलार जडानबाट पछि हटेको छ । सोलार बत्ती ३५र३५ मिटरको दूरीमा जडान गरिएको छ ।

आयोजनाका इञ्जिनीयरहरू पूर्णतः सबै समय घाम नलाग्दा पूर्णचार्ज हुन नसक्नु, प्यानलमा धुलो जम्मा हुनु जस्ता कारणले सिक्सलेन सडकमा सौर्य सोलार बत्ती प्रभावकारी नभएको जिकिर गर्छन् ।

सडकमा सौर्य सोलारबत्ती प्रभावकारी देखिएन ।’ आयोजना प्रमुख जिवेन्द्र मिश्र भने, ‘सूर्यको उपस्थिति सधैं नहुनु, प्यानलमा धुलो जम्नु, तीन वर्षपछि ब्याट्री फेर्नु पर्नेजस्ता कारणले सोलार प्रभावकारी नदेखिएको हो ।’

आयोजनाका पूर्व इञ्जिनीयर लिलाबहादुर भण्डारीले धुलो भइरहने सडकमा सोलार सडकबत्ती कतै पनि सफल नभएको बताए । ‘यहाँ मात्र होइन, मुलुकका अन्य ठाउँका सडकमा राखिएका सोलार पनि सफल देखिनन्,’ उनले भने ।

सोलार विकल्पमा विद्युत्

सौर्य सोलार बत्ती असफल भएपछि आयोजनाले विद्युत् बत्तीकै विकल्प अघि सारेको छ । अब बाँकी सडकमा विद्युत् बत्ती जडान गर्नेगरी काम अघि बढाइएको आयोजना प्रमुख मिश्रले बताए ।

आयोजनाले सबैभन्दा पहिला ड्राइभरटोलदेखि मणिग्रामसम्म विद्युत् सडक बत्ती जडान गर्नेछ । सडकको बीच डिभाइडरमा नौं मिटर अग्लो स्टीलको गोलो आकारको पोल राखेर आकर्षक बत्ती राख्ने आयोजनाको तयारी छ । ‘यस सम्बन्धी फाइल विभाग पठाएका छौं । स्वीकृत भएपछि यसको काम अघि बढ्छ,’ आयोजना प्रमुख मिश्र भने ।

विद्युतीय सडक बत्ती राख्नका लागि अहिले निर्माण भइरहेको डिभाइडरमा पाइप राखिएको छ । सडक बत्तीका लागि छुट्टै ट्रान्समिटर राख्नेगरीयोजना अघि बढाइएको छ । तिलोत्तमा नगरपालिकाले सडक बत्तीको महशुल तिर्ने जनाएपछि पहिलो चरणमा यहीँबाट काम अघि बढाउन थालिएको उनले जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा तिलोत्तमाको काम हुन्छ । त्यसपछि ओमसतिया र सिद्धार्थनगरमा पनि यस्तै प्रकृतिको काम हुनेछ ।’

आयोजनाले डिभाइडरमा मात्र होइन,दुवैतिरका फुटपाथमा समेत सडकबत्तीको व्यवस्था गर्नेछ । अहिले रहेका विद्युत् पोलमा बत्तीको व्यवस्था गरिने इञ्जिनीयर गोविन्द श्रेष्ठले बताए ।

‘यसैगरी पहिले जडान भएका सौर्य सोलार बत्तीमा पनि विद्युत् बत्ती जडान गर्ने आयोजनाको तयारी छ । क्रमशः सौर्य सोलार बत्ती विस्थापित हुनेछन्,’ आयोजना प्रमुख मिश्रले भने ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यो सडकको निर्माण कार्य अत्यन्त सुस्त गतिमा छ । विभिन्न बाहना बनाउँदै निर्माण कार्य ढिलाइ भइरहेको यो सडकको निर्माण कार्य आगामी चैतसम्म सक्ने लक्ष्य लिइएको छ ।

सडक पूरा भएपछि सबैमा करीब एक हजार ५०० सडकबत्ती जडान हुने र त्यसपछि उक्त सडक पूरै झिलिमिली हुने आयोजनाले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्