
काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग शिखरवार्ताका लागि उत्तर कोरियाका नेता किम जोङ–उन भियतनामतर्फ ट्रेन चढेर प्रस्थान गरेका छन् ।
किम ट्रेन चढेर ७०० किलोमिटरको यात्रा पूरा गर्नेछन् । ट्रेन अराइभलका लागि भियतनामका अधिकारीहरूले तयारी गरिरहेका छन् ।
किमको ट्रेन चीन हुँदै भियतनाम पुग्नेछ । चीनको शहर डानडोङ उत्तर कोरियाको सीमामा जोडिएको छ । एउटा पुल भएर किमको ट्रेन गुड्नेछ ।
उक्त पुलनजिक रहेको होटलमा बसेका सबै पाहुनालाई चेक आउट गर्न लगाइएको छ ।
चीन र उत्तर कोरियालाई छुट्ट्याउने यालु नदीनजिक बनेको झोङलियान होटललाई बन्द गरिएको छ ।
ट्रेन भियतनामको डोङ डाङ स्टेसनमा पुग्नेछ । त्यो चीनको सीमानजिक पर्छ ।
त्यहाँबाट किम कार चढेर हनोई पुग्नेछन् । भियतनाम प्रशासनले सुरक्षाको दह्रो प्रबन्ध मिलाएको छ । सडक विभागले डोङ डाङमा स्टेसनसम्म जाने सडकमा ठूला ट्रक आउन प्रतिबन्ध लगाएको छ ।
मंगलवार १७० किलोमिटर सडकलाई बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म बन्द गरिनेछ ।
किमको विदेश भ्रमणलाई पहिले जस्तै गोप्य राखिएको छ ।
किम भियतनाममा हनोईबाहेक कुआङ निन्ह र बाक निन्ह प्रान्त पनि जानेछन् । त्यहाँ अनेकौं कारखाना रहेका छन् ।
हनोईको मेलिया होटलमा ट्रम्प र किमबीच भेटवार्ता हुने सम्भावना छ ।
किमका पिता किम जोङ–इल र हजुरबुवा किम इल–सुङले पनि रेलयात्रा गरेर चीन भ्रमण गरेका थिए । जोङ–इललाई हवाईयात्रा गर्न डर लाग्ने भएकाले ट्रेनमा यात्रा गर्थे । उनको रेलमा मनोरञ्जनका लागि केही महिला पनि हुन्थे र
उनीहरूलाई लेडी कन्डक्टर भनिन्थ्यो ।
त्यो ट्रेनसँग अन्य दुई ट्रेन पनि हुन्थे । त्यसको स्पीड ६० किलोमिटर प्रतिघन्टा हुन्थ्यो ।
एजेन्सी