३० जेठ २०८३, शनिबार

अंग्रेजी जानेकैमा तुजुक देखाउनु पर्दैन !

फागुन १३, २०७५
अंग्रेजी जानेकैमा तुजुक देखाउनु पर्दैन !

आजको विश्वमा अंग्रेजी भाषाको साम्राज्य बढ्दै गएको वास्तविकता हो । अंग्रेज र अंग्रेजीलाई निकै तल्लो नजरले हेर्ने युरोपेली देशहरू पनि आज यो भाषा सिक्न उद्यत छन् । चीन र जापान जस्ता देशहरूमा पनि अंग्रेजी भाषा सिक्ने होड नै चलेको छ ।

विज्ञान र प्रविधिका लागि आजको विश्वमा अंग्रेजी नै सबैभन्दा मानिएको अन्तर्राष्ट्रिय भाषा बन्न पुग्नु नै सिकाइको सबैभन्दा ठूलो कारण हो । अर्थशास्त्र र अन्तर्राष्ट्रिय व्यापारमा पनि यसै भाषाको वर्चस्व कायम छ । अनि त्यसैले ती सबै मानिसलाई यसबाट ठूलो फाइदा छ जसको मातृभाषा नै अंग्रेजी छ भन्ने कसैलाई पनि लाग्न सक्तछ । तर कुरा यति सरल अवश्य पनि छैन । 

अंग्रेजी मातृभाषा भएको जति फाइदा अंग्रेजहरूलाई भएको मानिँदैछ त्यसभन्दा बढी उनीहरूलाई नोक्सानी नै हुने गरेको अनुभवले देखाएको छ । एउटा प्रतिष्ठित अंग्रेजी समाचारपत्रमा छापिएको लेखमा बताइएअनुसार, सबैभन्दा ठूलो नोक्सानी के भएको छ भने अंग्रेजहरूलाई विश्वका मानिसहरूका अन्य भाषा सिक्नुपर्ने स्थिति नै बनेन । उनीहरू विश्वको जुनसुकै कुनामा गए पनि आफ्नो भाषा बोलेको उनीहरूले पाउँछन् । 

फलतः उनीहरूलाई अर्को भाषा सिकिरहनुपर्ने आवश्यकता नै पर्दैन । अनि यसबाट उनीहरूको सोच्ने, बुझ्ने दृष्टिकोण साँघुरो हुन्छ र उनीहरूको संस्कृति एकांगी बन्न पुग्दछ र पुगेको छ । के देखिएको छ भने अंग्रेजीभाषी मानिसहरूले अन्य समाज र समुदायको सभ्यता र संस्कृतिलाई जान्ने बुझ्ने क्षमता नै कम भएर गएको छ । 

अंग्रेजीभाषी समाजका मानिसहरूलाई आज जुन खतरा अनुभव हुँदै गइरहेको छ, त्यो केवल अंग्रेजहरूका लागि मात्रै खतरा नभई अंग्रेजीबाहेक अन्य भाषा नजान्ने अंग्रेजी मूलभन्दा फरक वर्गका लागि पनि हो

पूँजीवादी भूमण्डलीकरणको आजको युगमा फरक संस्कृतिको ज्ञान नै सबैभन्दा बढी आवश्यक बनेको छ । बेलायती उपनिवेशवाद पछाडि अन्य विभिन्न कारणहरू भए पनि यसको एउटा ठूलो कारण अंग्रेजहरूमा अन्य देशको भाषा, संस्कृति र इतिहासलाई जान्ने बुझ्ने ठूलो जिज्ञासा र उत्कण्ठा पनि एउटा कारण थियो भन्ने इतिहासले (त्यसमा पनि सांस्कृतिक इतिहास) ले दर्शाएको छ । 

निश्चय नै आजको विश्वमा प्रभावशाली बन्नका लागि संसारलाई बुझ्नुपर्ने हुन्छ र संसार बुझ्नका निमित्त विज्ञान र प्रविधिको ज्ञानभन्दा पनि बढी आवश्यकता राजनीति, अर्थशास्त्र र इतिहास ज्ञानको हुने गरेको छ । अहिले के भनिँदैछ भने केवल अंग्रेजी ज्ञान भएको कारणले विज्ञान र प्रविधिमा त त्यस्तो खासै कुनै कठिनाइ आइरहेको छैन तर सामाजिक विज्ञानको अध्ययन र अनुसन्धानलाई भने ठूलो नोक्सानी पुगिरहेको छ ।

जसको मातृभाषा अंग्रेजी हैन, तिनले त अंग्रेजी सिक्छन् र उनीहरूलाई कम्तीमा दुई भाषाको ज्ञान हुन्छ । अनि अंग्रेजी मात्र जान्नेहरूभन्दा उनीहरू राम्रो स्थितिमा हुन्छन् । यस प्रकार के मानिन्छ भने एक भाषा जान्ने भन्दा एकभन्दा बढी भाषा जान्ने मानिसको ज्ञान क्षमता बढी हुन्छ र उनीहरू बढी लचिलो र सहिष्णु पनि हुन पुग्दछन् ।

विश्वमा आज विज्ञान र प्रविधिको अत्याधुनिक विकासले संसारभरिका देशहरू नै एक आपसमा जोडिएको बेलामा एउटै भाषा र संस्कृति जान्नेहरूको प्रगतिको सम्भावना कम भएर जान्छ । सामान्य कुरा के छ भने कुनै पनि अर्को देशको इन्जिनीयर या प्रबन्धकका योग्यताहरूमा एक अतिरिक्त योग्यता जोडिएको हुन्छ र त्यो भनेको वस्तुतः भाषाकै योग्यता नै हो ।

सामान्यतः अमेरिकीहरूका बारेमा के भन्ने गरिन्छ भने उनीहरूलाई आफ्नो देशभन्दा बाहिरको कुनै खास जानकारी लगभग हुने गर्दैन । आफ्नो वर्चस्व जमाउने अन्य कारण पनि होलान् तर हालै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नेपाल र भुटान भारतकै भूभाग हुन् भनेर जुन टिप्पणी गरे, त्यो भाषाको अनभिज्ञता र गलत ज्ञान स्रोतका कारणले पनि हुन सक्छ भन्ने सामाजिक अनुसन्धाताहरूले औंल्याएका छन् । तर अंग्रेजीभाषी समाजका मानिसहरूलाई आज जुन खतरा अनुभव हुँदै गइरहेको छ, त्यो केवल अंग्रेजहरूका लागि मात्रै खतरा नभई अंग्रेजीबाहेक अन्य भाषा नजान्ने अंग्रेजी मूलभन्दा फरक वर्गका लागि पनि हो । यसलाई कसैले अभिजातीय भएको प्रमाण पनि मान्दछन् भने कसैले अभिशापको कुरा पनि ।

सांसारिक लाभ–हानिको कुरा छोड्ने हो भने पनि कसैले पनि आफ्नो भाषा तथा संस्कृतिबाट विमुख र वञ्चित रहनु बिल्कुलै समझदारीको कुरा अवश्य नै होइन । तर अंग्रेजी अनेकौं कारणले महत्त्वपूर्ण भाषा बनेको छ । विभिन्न अनुभवले के प्रस्ट पारेको छ भने एकभन्दा बढी अन्य भाषाहरू जान्नेहरूले नै अंग्रेजीको सामना पनि राम्रोसँग गरेका छन् । अंग्रेजी जान्नु आफैंमा नराम्रो होइन, तर यो भाषा जानेकैमा तुजुक गर्ने जमाना अब विगतको कुरा भइसकेको छ । जसको मातृभाषा अंग्रेजी छ तिनको अनुभवले पनि यो सिद्ध गरिसकेको या गरिरहेको छ । 

वस्तुतः भाषालाई सही सूचना र ज्ञानको माध्यमकै रूपमा बुझ्नु बुझाउनु र विकसित गरिनुपर्दछ । यस हिसाबले यसले स्वतः संस्कृति पनि बोक्छ र फैलाउँछ नै ।

कुनै पनि भाषा ज्ञानको माध्यम र संवाहक हो । ज्ञानको निरन्तरताको माध्यम भएकाले पनि यसलाई भाषा अनुसन्धाताहरूले जीवित वस्तु भन्ने गरेका हुन् । वस्तुतः भाषालाई सही सूचना र ज्ञानको माध्यमकै रूपमा बुझ्नु बुझाउनु र विकसित गरिनुपर्दछ । यस हिसाबले यसले स्वतः संस्कृति पनि बोक्छ र फैलाउँछ नै । तर कुनै पनि भाषालाई हेय र असमान दृष्टिले हेर्न र व्यवहार गर्न खोजिएमा त्यो द्वन्द्व निम्त्याउने र अशान्ति कायम गर्ने माध्यम पनि बन्न जान्छ । 
त्यसैले भाषासम्बन्धी सही दृष्टिकोण आजको आवश्यकता हो । त्यसको अर्थ हो, भाषिक समानताको आधार खोजी गर्ने, विकसित गर्ने र त्यसको जगेर्ना गर्ने ! त्यसो गरेमा मात्र विश्वको भविष्य सुन्दर, शान्त र समृद्ध हुने कुरा सुनिश्चित छ ।

salt training

कमेन्ट गर्नुहोस्