
काठमाडौं — जम्मु कश्मीरको पुलवामामा सीआरपीइफ जवानमाथि भएको आत्मघाती आक्रमणपछि भारत पाकिस्तानपछि आक्रोशित भएको छ । पाकिस्तानले भने शान्तिको अवसर दिनका लागि नयाँ दिल्लीलाई आह्वान गरेको छ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आइतवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शान्ति ल्याउने एक मौका दिन भनेका छन् । आफ्नो वाचामा कायम रहने र भारतले पुलवामा आक्रमणमा पाकिस्तानलाई कारवाही योग्य गोप्य जानकारी उपलब्ध गराएमा त्यसमाथि तत्कालै कारवाही गरिने बताए ।
पाकिस्तानको प्रधानमन्त्री बनेपछि खानलाई बधाई दिनका लागि गरेको फोनवार्तालाई याद गर्दै मोदीले भने, ‘मैले उनलाई भनेको थिएँ, आउनुस् गरीबी र अशिक्षा विरुद्ध लडाईं लडौं । त्यसमा खानले भनेका थिए, म पठानको बच्चा हुँ, साँचो बोल्छु, साँचो काम गर्छु । आज ती शब्दहरूलाई तौलिने बेला आएको छ ।’
पाकिस्तानको प्रधानमन्त्री कार्यालयले जारी गरेको बयान अनुसार, ‘प्रधानमन्त्री इमरान खान आफ्नो वाचामा कायम हुनुहुन्छ, भारतले कारवाहीयोग्य गोप्य जानकारी दिएमा हामीहरू तत्कालै कारवाही गर्नेछौं ।’
यसअघि फेब्रुअरी १९ मा इमरानले भारतलाई आश्वस्त तुल्याउँदै पुलवामा आक्रमणका दोषीहरूविरुद्ध कारवाही गर्ने बताएका थिए । पुलवामा आक्रमण पाकिस्तानस्थित जैश ए मोहम्मद आतंकवादी संगठनले गराएको हो ।
इमरानले बदलाको भावना लिएर जवाफी कारवाही नगर्न भारतलाई चुनौती दिए । भारतले भने आक्रमणको जाँचका सम्बन्धमा खानको प्रस्ताव एक बहाना मात्र भएको बताएको छ ।
एजेन्सी