०६ असार २०८३, शनिबार

४० वर्षमा पनि किन इरानलाई झुकाउन सकेन अमेरिकाले ?

फागुन १३, २०७५
४० वर्षमा पनि किन इरानलाई झुकाउन सकेन अमेरिकाले ?

इरानी क्रान्तिको ४०औं वर्षगाँठले पश्चिमी शक्तिहरूलाई आत्ममन्थनको सुनौलो अवसर दिएको बताइएको छ । 

इस्लामी गणतन्त्र इरानसँग पश्चिमले चार दशकसम्म असहमति जनाएको भए पनि न त इरानले घुँडा टेक्यो, न त यस इलाकामा शान्ति नै स्थापना भयो । अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति भएपछि अमेरिका र इरानबीचको शत्रुता झनै बढेको छ । 

सन् १९७१ मा युगोस्लाभियाका तत्कालीन राष्ट्रपति जोसेप टिटो, मोनाकोका राजकुमार रेनिअर र राजकुमारी ग्रेस, अमेरिकाका उपराष्ट्रपति सिप्रो एग्नेऊ र सोभियत संघका नेता निकोलाई पोगर्नी इरानी शहर पर्सिपोलिसमा भेला भएका थिए । 

उनीहरू सबै एक शानदार पार्टीमा भाग लिइरहेका थिए । पार्टीको आयोजना इरानी शाह रजा पहलवीले गरेका थिए । तर यसको आठ वर्षभन्दा कम समयमा इरानका नयाँ नेता आयातोल्लाह रुहोल्लाह खमेनी सत्तामा आए र उनले उक्त पार्टीलाई शैतानी संज्ञा दिए । 

सन् १९७९ मा इरानमा इस्लामिक क्रान्तिअघि खोमेनी टर्की, इराक र पेरिसमा निर्वासित जीवन बिताइरहेका थिए । शाह पहलवीको नेतृत्वमा इरानको पश्चिमीकरण भइरहेको तथा अमेरिकामाथि निर्भरता बढिरहेको भन्दै खोमेनीले आलोचना गरिरहन्थे । 

सन् १९५३ मा अमेरिका र बेलायतले इरानमा लोकतान्त्रिक प्रक्रियाबाट छानिएका प्रधानमन्त्री मोहम्मद मोसादेगलाई अपदस्थ गरेर पहलवीलाई सत्ता सुम्पिएका थिए । मोसादेगले इरानको तेल उद्योगलाई राष्ट्रियकरण गरेका थिए र उनी शाहको शक्ति घटाउन चाहन्थे । 

विदेशी नेतालाई शान्तिकालमा अपदस्थ गर्ने कामको पहिलो शुरूआत अमेरिकाले इरानबाटै गरेको हो । पछि गएर अमेरिकाको परराष्ट्रनीतिको यो एक अंग नै बन्यो । 

सन् १९५३ मा इरानमा अमेरिकाले गराएको कूको परिणामस्वरूप सन् १९७९ को क्रान्ति भयो । त्यसपछिको ४० वर्षमा इरान र पश्चिमबीचको कटुता अन्त्य भएन ।

इरानमा क्रान्तिपछि आएको रूढिवादिताका विषयमा प्रोजेक्ट सिन्डिकेटले आफ्नो एक रिपोर्टमा जर्मन दार्शनिक हाना एरेन्टको एक टिप्पणीको उल्लेख छ । एरेन्टको भनाइ थियो, ‘अधिकांश उग्रक्रान्तिकारीहरू क्रान्तिपछि रूढिवादी बन्छन् ।’

खोमेनीको विषयमा पनि यही कुरा सही ठहर्छ । सत्तामा आएपछि खोमेनीको उदारतामा परिवर्तन आयो । उनले आफूलाई वामपन्थी आन्दोलनबाट अलग्याए । 

उनले विरोधी आवाज दबाउन शुरू गरे र इस्लामिक गणतन्त्र र इरानको लोकतान्त्रिक आवाजबाट दूरी कायम गर्न थाले । 

क्रान्ति सफल भएपछि इरान र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध अन्त्य भयो । तेहरानमा इरानी विद्यार्थीहरूको एक समूहले अमेरिकी दूतावास कब्जामा लिए र ५२ अमेरिकी नागरिकलाई ४४४ दिनसम्म बन्धक बनाए । 

यसमा खोमेनीको मौन समर्थन रहेको बताइएको छ । अमेरिकामा रहेका शाहलाई पठाउन उनीहरूले अमेरिकी राष्ट्रपति जिम्मी कार्टरसँग माग गरे । शाह न्युयोर्कमा क्यान्सरका उपचार गराउन गएका थिए । 

रोनल्ड रेगन अमेरिकाका राष्ट्रपति नबनुन्जेल बन्धकहरूलाई मुक्त गरिएन । 

यसबीच सद्दाम हुसेनले सन् १९८० मा इरानमाथि आक्रमण गरे । इरान र इराकबीच आठ वर्षसम्म हिंस्रक युद्ध मच्चियो । यस युद्धमा अमेरिकाले सद्दामलाई साथ दियो । सोभियत संघले पनि सद्दामलाई सहायता दियो ।

यो युद्ध एक सम्झौताका साथ अन्त्य भयो । युद्धमा कम्तीमा पाँच लाख इरानी र इराकी मारिएका थिए । इराकले इरानमा रासायनिक हतियार प्रयोग ग–यो । यसको असर इरानमा लामो समयसम्म देखियो । 

यही समयदेखि इरानले आणविक बमको सम्भावनामा विचार गर्न थाल्यो । अमेरिकाका तत्कालीन राष्ट्रपति आइजनहावरको समयमा इरानमा शाहको शासन चलिरहँदा इरानले परमाणु ऊर्जा संयन्त्र बनाउने कोशिश गरेको थियो । 

इरानले परमाणु कार्यक्रममा काम गर्न शुरू गरेपछि सन् २००२ मा लुकाएर राख्यो । अमेरिकाको कूटनीतिक समीकरण बदलिएपछि त्यसमा नाटकीय परिवर्तन आयो ।

अमेरिकाले सद्दाम हुसेनको समर्थन गर्न बन्द ग–यो र इराकमाथि आक्रमणको तयारी ग–यो । अमेरिकाको यो विनाशकारी निर्णयले इरानलाई महत्त्वपूर्ण रणनीतिक फाइदा पुग्यो ।

तर अमेरिकाका राष्ट्रपति जर्ज डब्ल्यु बुशले एक्सिस अफ एभिल भनेर इरानलाई पनि आलोचना गरे ।

पछि गएर युरोपले इरानसँग आणविक कार्यक्रममाथि कुराकानी गर्न थाल्यो । हाभिएर सोलाना त्यतिखेर युरोपेली संघको प्रतिनिधिका रूपमा इरानसँग कुराकानी गरिरहेका छन् । 

सन् २०१३ मा हसन रूहानी फेरि निर्वाचित हुँदा विश्व समुदायले आणविक कार्यक्रमका विषयमा कुरा शुरू ग–यो ।

दशकौंको शत्रुतापछि ओबामा प्रशासनले सन् २०१५ मा जोइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन बनायो । यसलाई ठूलो राजनीतिक सफलताका रूपमा हेरियो । 

ओबामाको कार्यकाल सकिएपछि ट्रम्प राष्ट्रपति बने र उनले एकतर्फी रूपमा यो सम्झौतालाई रद्द गरिदिए । ट्रम्प प्रशासनले इरानमा नयाँ प्रतिबन्ध लगायो । 

इरानसँग व्यापार गर्ने देशले अमेरिकासँग व्यापारिक सम्बन्ध राख्न नसक्ने भनी ट्रम्पले धम्की दिए । 

यसको परिणामस्वरूप इरानको विषयमा अमेरिका र युरोपबीचको मतभेद खुलेर सार्वजनिक भयो । युरोपेली संघले इरानसँग भएको आणविक सम्झौतालाई बचाउने कोशिश गरेको भए पनि ट्रम्पले टेरेनन् । इरान फेरि एकपटक संकटमा परेको छ ।

विगत ४० वर्षमा इरानले अनेकौं संकट झेलेको छ तर यसपटकको संकट कम दुःखदायी छैन । धेरै विशेषज्ञहरू ट्रम्पले शत्रुतापूर्ण नीति अपनाएर यस क्षेत्रमा शान्ति स्थापना गर्न सक्दैनन् र उनले इरानसँग कुराकानी गर्नुपर्ने मान्यता राख्छन् ।

बीबीसी हिन्दीबाट
 

salt training

कमेन्ट गर्नुहोस्