२७ जेठ २०८३, बुधबार

राष्ट्रियसभाको विशेष समयमा कसले के भने ?

फागुन १५, २०७५
राष्ट्रियसभाको विशेष समयमा कसले के भने ?

काठमाडौं- राष्ट्रियसभाका सांसदहरूले मेलम्चीको खानेपानी काठमाडौंमा ल्याउन भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । 

सङ्घीय संसद्, राष्ट्रियसभाको बुधवारको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले सरकारलाई घाटा नपर्ने गरी जतिसक्दो चाँडो आयोजना सम्पन्न गरी काठमाडौंवासीसमक्ष खानेपानीको व्यवस्था गर्नुपर्ने माग गरे । 

सांसद दिलकुमारी थापा रावलले भनिन्, 'अहिलेसम्म पनि मेलम्चीको पानी काठमाडौंसम्म किन आउन सकेन ? किन अन्यौल भइरहेको छ ? जतिसक्दो चाँडो काम सम्पन्न गर्नका लागि म सम्बन्धित निकायसँग आग्रह गर्दछु ।' 

सांसद जीतेन्दनारायण देवले ललितपुर नख्खुस्थित एनसेलको कार्यालय र देशका विभिन्न स्थानमा भइरहेको बम आतङ्कलगायत हत्या हिंसा बढ्दै गएको भन्दै सरकारको ध्यानाकषर्ण गराए । उनले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीबारे सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दृष्टिकोण माग गरे ।  

सांसद नन्दा चापागाईंले देशमै युवालाई स्वरोजगारको व्यवस्था गर्न माग गरिन् । 

सांसद प्रकाश पन्थले १४० मेघावाटको तनहुँ जलविद्युत् आयोजनाको सम्झौता इटालियन निर्माण कम्पनी सीएमसीसँग भएकामा नेपाल छोडेर फर्केको, सुरक्षाको प्रश्न उठाएकाले पछिल्लो बमकाण्डले विदेशीलाई लगानीका लागि निरुत्साहित गरेको बताए । तनहुँ जलविद्युत् आयोजना सिध्याउने खेल पहिल्यैदेखि भइरहेकाले सचेत हुन उनले सरकारको ध्यानाकर्षण गराए ।

सांसद ठगेन्द्रप्रकाश पुरीले सडक दुर्घटना बढ्दै गएकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै दुर्घटनाकै कारण पछिल्लोपटक प्रदेशसभा सदस्य उत्तरकुमार वलीको समेत निधन भएको प्रसङ्ग उल्लेख गर्दै दुर्घटना न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । 

सांसद कालीबहादुर मल्लले जाजरकोटमा सुनखानी भएको प्रमाणित भएकामा राज्य बेखबर बनेको उल्लेख गर्दै सङ्घीय सरकारले जिम्मा लिई उत्खनन गर्नुपर्ने माग गरे । जाजरकोटको नून, फलाम खानी पनि उत्खनन गर्न उनले जोडदार माग गरे । १०० वर्षसम्म पुग्ने फलाम जाजरकोटबाटै उत्पादन हुने सांसद मल्लको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्