
काठमाडौं – भारतको जम्मु कश्मीरस्थित पुलवामामा सुरक्षा दस्तामाथि भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावप्रति नेपाल सरकारले चिन्ता व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले बुधवार एक विज्ञप्ति जारी गर्दै चिन्ता व्यक्त गरेको वक्तव्य जारी गरेको हो । उक्त आतंकवादी आक्रमणलाई नेपालले तत्कालै निन्दा गरेको पनि परराष्ट्रको वक्तव्यमा उल्लेख छ ।
वक्तव्यमा लेखिएको छ, ‘सार्कको बहालवाला अध्यक्षका रूपमा नेपालले दक्षिण एसियामा शान्ति र स्थिरताको महत्त्वलाई जोड दिँदै दुवै पक्षलाई नियन्त्रण कायम गर्न तथा यस क्षेत्रमा शान्ति र सुरक्षालाई जोखिममा नल्याउन आह्वान गरेको छ । दुवै पक्षलाई संवाद तथा शान्तिपूर्ण तरिकाले समाधान खोज्न अनि तनाव घटाउन तथा परिस्थितिलाई सामान्य बनाउन आग्रह गर्छ ।’