
काठमाडौं — पाकिस्तानी सुरक्षा बलहरूले पक्राउ गरेका भारतीय पाइलट भारतीय वायुसेनामा कार्यरत रहेको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पाकिस्तानी सेनाले बुधवार एक घोषणा गर्दै उसले दुईवटा भारतीय लडाकू विमानलाई गोली हानेर खसाएको र दुईवटा पाइलटलाई नियन्त्रणमा लिएको बतायो ।
पछि सेनाको सञ्चार विभागले एक पाइलटको भिडियो सार्वजनिक गरेको थियो । पाइलटले आफू विंग कमान्डर अभिनन्दन भएको बताए र उनको सर्भिस नम्बर २७९८१ हो ।
भारतले पाकिस्तानको कारवाहीबाट आफ्ना कुनै पनि पाइलटलाई क्षति नपुगेको वा नियन्त्रणमा लिएको बताएपनि भारतीय सैन्य सूत्रहरूले कम्तीमा एक पाइलट हराइरहेको स्वीकार गरेको छ । ‘भारतीय वायुसेनाका पाइलट विंग कमान्डर अभिनन्दन मिग–२१ बाइसन जेटमा आज उडेका थिए, उनी अझै फर्किएका छैनन्,’ भारतको एएनआई समाचार संस्थाले स्रोतलाई उद्धृत गर्दै लेख्यो ।
नियन्त्रणमा लिइएका पाइलटको नाम अभिनन्दन वर्तमान हो ।
दी एक्सप्रेस ट्राइब्युनबाट